यु १९ विश्वकप छनोट : कप्तान पौडेलको पौरख, नेपालले सिंगापुरलाई २ सय १७ रनले हरायो

काठमाडौ, २९ चैत । नेपाली यु १९ का कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले सिंगापुरलाई २ सय १७ रनको विशाल अन्तरले पराजित गरेको छ ।
आइसीसी यू १९ विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा सिंगापुरविरुद्ध नेपाली युवा बलरहरुले उत्कृष्ट एवं घातक बलिङ गर्दा सिंगापुर ६५ रनको न्यून स्कोरमा समेटिदा आफ्नो पहिलो खेलमा नेपालसंग २ सय १७ रनले पराजित हुन पुगेको हो ।

नेपालले दिएको दुई सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा ३१ ओभर खेल्दै सवै विकेट गुमाउँदै ६५ रनमा समेटिएको हो । सिंगापुरका लागि ईशान सव्नेयले सर्वाधिक २८ रन जोड्दा सैई भेनुगोपालले १८ रन जोडेका थिए । ईशानले ५४ बलको सामना गर्दै ४ चौका र १ छक्का हिर्काउदा भेनुगोपालले ३ चौका हिर्काउदा ४५ बलको सामना गरे । उसका अन्य ५ जना ब्याट्सम्यानहरुले बाहेक ४ जना खेलाडीहरुले कुनै रन जोड्न सकेनन् ।

नेपाली युवा बलरहरुले घातक बलिङ गर्दा पवन सराफले ६ ओभरको स्पेलमा ५ ओभर मेडन राख्दै जम्मा ५ रन खर्चेर सिंगापुरका ३ विकेट चट्काउदा कुशल मल्ल र सूर्य तामाङले दुई दुई विकेट प्राप्त गर्दा राशिद खानले पनि १ विकेट चट्काए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ८२ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ९५ रन जोड्दा १ सय ५ बलको सामना गर्दै उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए । ४६औं ओभरको पहिलो बलमा क्याच आउट हुँदा आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाउन ५ रनले चुकेका थिए । यस्तै रासिद खानले ४८ रनको योगदान दिदा ४७ बलमा उनले ४ चौका र २ छक्का प्रहार गरे । साथै नेपाल लागि ओपनर गरेका पवन सर्राफले ४७ रन बनाए । सरार्फले ५३ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए ।

त्यसबाहेक नेपालका कमलसिंह ऐरीले ३१ रन, भीम सार्कीले २६ रन, कुशल मल्लले १० रन जोड्दा रित गौतम १ रन, आसिफ शेख ८ रन बनाएर आउट हुँदा नेपालका भरपर्दा युवा स्टार खेलाडी सन्दीप जोराले खाता खोल्न नपाउदै आउट भए । बलिङतर्फ सिंगापुरका ए गुनेले सर्वा्धिक ४ विकेट चट्काउदा आर शर्मा र भि मेहताले समान दुई दुई विकेट प्राप्त गर्दा सिंघाबीले एक विकेट प्राप्त गरेका थिए ।

मलेसियामा जारी छनोट प्रतियोगिताको बिजेता टोलीले २०२० मा दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकपका लागि छनोट हुनेछ । छनोट प्रतियोगितामा नेपालसहित आयोजक राष्ट्र मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमानको सहभागिता रहेको छ । अब नेपालले आफ्नो दोस्रो खेल बलियो प्रतिद्वन्दी युएईसंग शनिबार प्रतिष्पर्धा खेल्नेछ ।