सर्वा‌ंगरुपेण आदित्य

आदित्यलाई मैले धेरै पहिले चिनेको होइन, प्रशस्तै सुनेको मात्र हो। समय आउनुपर्दो रहेछ। यसै वर्ष माघतिर प्रा.डा. माधव भट्टराई गुरुसँग त्रिगजुर महादेव मन्दिरको प्राणप्रतिष्ठासम्बन्धी कुरा भयो। पहिले बुझौं अनि मात्र कुरा गरौंला भन्ने सल्लाह भयो। सोहीमुताविक माघतिर बालज्ञानी आदित्यको प्रथम दर्शन भयो। धेरै कुरा पत्याउन सकिने थिएनन्। मनले धेरै कुरा स्वीकार गरेन। क्रमशः प्राणप्रतिष्ठासम्बन्धी कुरा अघि बढे।

मैले आवश्यक सामग्रीको सूची बनाएर दिएँ। १३ पृष्ठको प्राणप्रतिष्ठाको कार्य विभाजन एवं तालिका आफैंमा अप्ठ्यारो विषय थियो। पन्ध्र दिन लगाएर बनाएको १३ पृष्ठको कार्य हेर्दा कर्तापक्षलाई मलाईभन्दा पाँच गुणा बढी चुनौतीपूर्ण देखिन्थ्यो। जे होस्, त्यसपछि विभिन्न बैठकमा आहूत भएँ, अनुष्ठान तयारीका विभिन्न तयारी बैठकमा मेरो पनि उपस्थिति बाक्लियो।

आचार्य वरण गर्ने भन्ने बैठक चैत ३ गते थियो। प्रा.डा. माधव भट्टराई गुरुसँग आइयो। बालज्ञानी गुरुदेवको निवासमा बैठक थियो। आचार्य पूर्णचन्द्र ढुंगेल, पं. स्थानेश्वर काफ्ले, भट्टराई गुरुलगायत करिब ३० जनाको उपस्थिति थियो। आज प्रतिष्ठासम्बन्धी प्रमुख अतिथिको टुंगो लगाऊँ भनी लक्ष्मीप्रसाद प्रसाईंजीले प्रस्ताव राख्नुभयो। गुरुदेवले नाम लेखिदिनुभयो प्रमुख आचार्यमा देवमणि भट्टराई गुरु, यहाँहरू विशिष्ट व्यक्तित्वहरूको अनिवार्य उपस्थिति यस अनुष्ठानमा हुनुपर्छ भनेर रुद्राक्षमालाद्वारा उपस्थित सबै गुरुजनलाई पदअनुसार वरण गर्नुभयो।

मनमा यस्तै–यस्तै द्विविधा अनेकौं थिए ती सबै क्रमशः निराकरण हँुदै गए। एक प्रश्न मात्र बाँकी थियो– आखिर को हुनुहुन्छ आदित्य ? अथवा यस्तो अलौकिक बच्चा को हुनुहुन्छ होला ? विद्यालय जानुभएको छैन, सबै भाषामा लेख्न निपुण हुनुहुन्छ। प्रत्येक बैठकमा एकै वाक्यमा द्विविधा समाप्त पारिदिन्नुहुन्छ।

हप्तौं लाग्यो मलाई भित्रभित्रै निश्चय गर्न। अनि मैले वैदिक पृष्ठभूमिका अनेकौं अलौकिक पात्रहरू सम्झिन थालें। एकातिर आदित्य, अर्कोतिर श्रीमद्भागवतमहापुराणको माहात्म्यको आत्मदेव ब्राह्मण, उनको सन्तान प्राप्तिको लालसा, सन्तको आशीर्वचनबाट पुत्रद्वयको प्राप्ति।

सात जन्मसम्म सन्तान नहुनेलाई सन्तले दिएको एउटा फलका भरमा सन्तान हुन्छन् त ? कसरी नपत्याउने कथाले त्यही भन्छ– हाम्रो वैदिक आदर्श त्यही हो। कर्तुम्, अकर्तुम्, अन्यथाकर्तुंको सारांश नै यही हो भन्ने बुझें। बाल आदित्यलाई हेर्ने दृष्टिकोणमा अब सकारात्मक आयाम थपियोे। अर्को प्रसंग द्रौपदीको सम्झिएँ। त्यस कोणबाट पनि यताको तुलामा तौलिएँ। रामायणको एउटा श्लोक छ:

लौकिकानां तु साधूनामर्थो वागनुवर्तते।

ऋषिणां पुनराद्यानां वाचमर्थोऽनुधावति।।

सत् ऋषिहरूको वचनबाट पनि लौकिक रूप परिवर्तन हुन्छन् अर्थात् ऋषि, महर्षि, सन्तमहन्त आदि त्यस्ता महान् व्यक्तित्वबाट लोकमा चलेका ती भाव र शास्त्रीय पद्धति अवाधित भई आफ्नो बाटोमा बगिरहेका हुन्छन्। काठमाडौंबाट गण्डकी पश्चिममा बग्छ, यो सबैले जानेको कुरा हो। ऋषि–महर्षिजस्ता अलौकिक दिव्य व्यक्तित्वहरूका वाणीबाट काठमाडौंको पूर्वमा गण्डकी बग्छिन् भनियो भने गण्डकीले आफ्नो बाटो परिवर्तन गरेर पूर्वमा बग्न करै लाग्छ। रामायणको प्रसंग यहाँ टुंगिने क्रममा भनिएको छ– अलौकिक व्यक्तित्वका वाणीअनुसार प्रकृतिले पनि ऋषिहरूको अर्थको अनुसरण गर्दछ।

अलौकिक छुट्ट्याउने कसी के होला ?

भागवतकै पञ्चम स्कन्धमा जडभरतको कथा आउँछ। पहिलो जन्ममा राजा, दोस्रोमा मृग र तेस्रोमा मूर्ख ब्राह्मण। जडभरतका पिताले जजमानी धान्न छोराले वेद रुद्री पढे गरिखाला भन्ने मात्रै धेय थियो। लौकिक व्यवहार यही हो नै। जडभरतको लोकोत्तर व्यवहार हो मूर्ख बन्नु ताकि प्रपञ्चमा नफसियोस्, फेरि अर्को जन्म भएर बन्धनमा नपरियोस्। ज्ञान र वैराग्यले युक्त भएको व्यक्ति नै वेदान्तशास्त्रको आचरण गरी ब्रह्मज्ञानी हुन सक्छ भन्ने उद्देश्यले नै श्रीमद्भागवतमहापुराणमा यो कथालाई स्थान दिइएको हो।

आखिर को हुनुहुन्छ आदित्य ? विद्यालय जानुभएको छैन, सबै भाषामा लेख्न निपुण हुनुहुन्छ। प्रत्येक बैठकमा एकै वाक्यमा द्विविधा समाप्त पारिदिन्नुहुन्छ। सबै द्विविधा क्रमशः निराकरण भए पनि।

यहाँ पनि मैले आदित्यलाई कथाको कसीबाट अलौकिकतामा उतारें। मैले उतारेर मात्र हुन्छ त भन्नेतिर प्रश्न उठ्यो। उहाँका अनुयायीहरूको सान्निध्य बढ्दै गयो। कुरा सुन्दै गएँ। पढेका छैनन् तर सबै जानेको महसुस हुन्छ। संस्कृत, नेपाली, हिन्दी, अंग्रेजी, तेलगु, जर्मनी आदि भाषाका मानिसहरू आउँदा त्यसै भाषामा लेख्ने गरेको पनि बुझियो। यो कला हो वा चटक हो भन्नेबाट मेरो मानसपटलले रूप परिवर्तन ग¥यो र पूर्वजन्मको स्मृति र यो जन्मको आदित्य गुरुदेवको शरीर हो भन्ने निश्चयमा पुगें। मेरो दृष्टिपथमा उहाँमा अलौकिक पक्ष देख्ने दृष्टि फराकिलो हँुदै गयो। म निश्चयमा पुगें अलौकिक नै हो भन्नेमा।

अब आयो मन्दिरको कुरा। अद्भुत छ। तर के यो शास्त्रसम्मत हो ? यस विषयमा वेदज्ञ प्रा.डा. ऋषिराम पोखरेलले भन्नुभयो कि स्कन्दपुराणअनुसार नन्दीले तपस्या गरेको प्रसंगमा भगवान् शिवले भन्नुभएको छ– सारा चराचर जगत् मभित्र छ र म चराचर जगत्का प्रत्येक कणमा छु। यसर्थ तिमीभित्र पनि म छु। तिमी वर माग भन्दा नन्दीले वर माग्नुभएको प्रसंग आउँछ। यसबाट नन्दीभित्र शिवजी रहनुको द्विविधा रहेन। यो शास्त्रीय विषयको पुनरुत्थान बालगुरु आदित्यबाट उजागर भयो। प्रतिफलस्वरूप प्राणप्रतिष्ठा गरिने दिनको निर्धारण चैत २४ देखि ३० सम्म उहाँले नै दिनुभएको तिथिमिति हो। मुहूर्त पक्ष केलाउँदा अधिकाधिक मिलेको देखियो।

एक शास्त्रोद्गार :

चैत्रे वा फाल्गुने वापि ज्येष्ठे वा माधवे तथा।

माघे वा सर्वदेवानां प्रतिष्ठा शुभदा सिते।।

–मत्स्यपुराण सर्वदेवप्रतिष्ठाप्रकाशः

अलौकिक व्यक्तिद्वारा रचिएको त्रिगजुर शिवालयको प्राणप्रतिष्ठा यज्ञबाहेक अतिरिक्त यज्ञहरू पनि अलौकिक नै देखिन्छन्। जसमा कर्ता एवं यज्ञाचार्यहरू पनि फरक–फरक नै देखिन्छन्। यी सबै स्वयंमा स्वतन्त्र छन्। ॐ नमः शिवायको अखण्ड जप, ॐ आदि महामणि मन्त्र जप, दशांश हवन, १०८ कुण्डीय गायत्री हवन, योगाभ्यास, यज्ञयज्ञादि र प्रवचनजस्ता अनेकौं कार्य सम्पन्न भइरहेका छन्। यस अनुष्ठानमा उपस्थित एकअर्कालाई चिनिँदैन, मानिसको आवतजावतमा पनि आश्चर्यलाग्दो देखिन्छ।

अलौकिकता र नियमको अन्तर्सम्बन्ध

हो, विभिन्न कसीमा सबैले सबै कोणबाट हेर्दा, बुझ्दा र संगत गर्दा बालज्ञानी गुरु विलक्षण नै रहेको तथ्य प्रत्यक्ष अनुभव भयो। मलाई लाग्छ, दैवी शक्तिको आविर्भाव, गुरुदेवको जन्मान्तरको संस्कारमा यस जन्मको भौतिक शरीर जोडिएको हुनुपर्छ। यस्ता अलौकिक व्यक्तिको चरित्र आध्यात्मिक रहस्यअनुसार पूर्वका अनेकौं सत्संस्कारबाट हुँदा रहेछन्। यसबाट भने यस जन्ममा उहाँको भौतिक शरीरको मात्र उपस्थिति देखिन्छ। शास्त्रपठित संस्कारवान् सदाचारनिष्ठ गुणसम्पन्न हुनुहुन्थ्यो भन्ने देखिन्छ। उहाँको चिन्तनको धरातल गम्भीर एवं सनातन शास्त्रनिष्ठ छ। यस्ता विलक्षण प्रतिभासम्पन्न व्यक्तिका आचरण, संस्कार, उपदेश आदिमा पनि जन्मजन्मान्तरको प्रभाव देखिएकाले उहाँले बोलेका र आँटेका कार्यमा पनि लौकिक परम्पराअनुसार कसी लगाउन आवश्यक देखिँदैन। ऐतिहासिक पृष्ठभूमितिर घोरिँदा पनि लोकोत्तर व्यक्तित्वका लागि यस्ता अनेकौं कुरा शास्त्र, परम्पराइतर देख्न सकिन्छ। तर यही नियम सर्वसाधारणमा मान्य हुँदैन। हामीजस्ता सबै साधारणजनका लागि त एक मात्र आधार धर्मशास्त्राचरण नै हो।

शास्त्रोक्त प्रमाण यस्ता अलौकिक व्यक्तित्वका लागि मात्र सम्मतिपरक भए तर लौकिकजनका लागि ती शास्त्रविरुद्ध विषयले प्रवेश नै पाएनन्। त्यसकारण अलौकिक व्यक्तित्वका लागि उसलाई अन्तस्करणले अन्यत्रै प्रेरणा दिइरहेको हुँदो रहेछ। हामी सर्वसाधारणले यो कुरा बुझ्दा रहेनछौं। परिणाममा बुझ्नुपर्ने कुरा यो रहेछ कि लोकोत्तर व्यक्तिले गरेका कार्य हामी लौकिक व्यक्तिले गर्न मिल्दो रहेनछ। हामी विष पचाउन सक्दैनौं। शिवजीले विषपान गर्नुभयो। लौकिक व्यक्तिले छुँदा मात्र पनि विषले पोल्छ इत्यादि कुरा लौकिक र अलौकिकका दृष्टिले नै विचार गर्दा मात्र टुंगोमा पुग्न सकिँदो रहेछ। आदित्य गुरुदेवले गरेका कार्य नियम वा विधि, पद्धति म पनि पालन गर्छु भन्न सकिँदैन। मेरो अनुभवमा अतः अलौकिक व्यक्तित्वका अगाडि लौकिक व्यक्तिले ती कुराको अनुसरण गर्न सकिँदैन।

प्रथमशास्त्र विश्वको पहिलो धर्मशास्त्रको आशय सर्वजन हिताय, सर्वजन सुखाय हो। यसको निर्देशनमा विश्वका सबै कार्यहरू चल्छन्। कसैकसैले केही फरक गरेर पन्थ सिर्जन भएको मात्र हो। वेदको निर्देश सबैलाई एक छ।

सर्वांगरूपेण आदित्य गुरुदेवलाई म अलौकिक नै मान्दछु। उहाँको निर्देशनअनुरूप अलौकिक स्फुरणको मूर्तरूप त्रिगजुर शिवालय, प्रत्येक व्यक्तिलाई दिने निर्देशन एवं कार्य विभाजन र आफ्ना संस्कारहरू एवं वैदिक विधिको अनुसरण आदिले उहाँलाई लोकोत्तर नै मान्नुपर्छ कि उहाँ हामी सर्वसाधारणजस्तो मात्र व्यक्तित्व होइन, अलौकिक हुनुहुन्छ।

साधारण मनुष्यभन्दा धेरै माथि उहाँलाई ईश्वरले अन्तरात्मामा प्रेरणा दिनुहुन्छ। त्यो प्रेरित वचन हामी सामुन्ने प्रकट गरिदिनु नै उहाँको गुरुत्व हो।