किन ? खुम्चिँदै प्रसिद्ध जात्राहरू

काठमाडौं : इन्द्रचोक र इन्द्रजात्राबीच गहिरो साइनो छ। किनकि, काठमाडौं चक्कर लगाउने इन्द्रजात्रा यही इन्द्रचोकबाट सुरु हुन्छ। र, यही चोकका वासिन्दा हुन् लक्ष्मण रञ्जित। सानोमा हुलमूलमा इन्द्रजात्रा मनाउने गरेका लक्ष्मण दुई दशकयता भने यसको अंग बनेका छन्। अर्थात् लक्ष्मण इन्द्रजात्राको समयमा नाचिने लाखे नाचका मुख्य नर्तक हुन्।

लाखे नाच यो जात्राको मुख्य आकर्षण हो। इन्द्रध्वज ठड्याएको दिनमै नाःद्य पूजापश्चात् मजिपातको लाखे घरबाट निकालिन्छ लाखे नाच। २२ वर्षयता उनी इन्द्रजात्रामा देखाइने लाखेनाचमा लाखे बनेर नाचिरहेका छन्। ‘पहिलोपटक लाखे बन्दा १४ वर्षको थिएँ’, उनी सम्झन्छन्, ‘लाखेनाच रथयात्राको अघिअघि नचाइन्छ।

रथयात्राका लागि बाटो खाली गर्दै जाने र शत्रुहरू हटाउँदै जाने लाखेको पौराणिक मान्यता हो।’ २२ वर्ष जात्रामा सँगै हिँडेका उनले आफ्नो जीवनमा जस्तै जात्रामा पनि धेरै परिवर्तन देखें। ‘कतिपय राम्रा परिवर्तन पनि भए भने कति विकृति पनि भित्रिए’, उनी भन्छन्, ‘पहिले इन्द्रजात्राको अवसरमा कुमारीको रथ तान्न महिलालाई दिइँदैनथ्यो तर अहिले दिइन्छ।’ बाजाहरू भने पहिले कम पाइने उनी बताउँछन्। ‘पहिले धिमे र न्यखिन्चा बाजा मात्र हुन्थ्यो त्यो पनि कम हुन्थ्यो’, उनले भने, ‘तर अहिले गुठीहरूले धेरै बाजा ल्याएका छन्। पहिलेभन्दा राम्रो भएको उनको तर्क छ।

काठमाडौंका राम रञ्जितले पनि इन्द्रजात्रा मनाएको धेरै भयो। उनलाई पनि जात्राको ढाँचामा व्यापक परिवर्तन भएजस्तो लाग्छ। ‘पहिले–पहिले इन्द्रजात्रामा कुमारीको रथ दुईचोटि मात्र तानिन्थ्यो’, उनले भने, ‘एकचोटि कोने एकचोटि थोने मात्र तानिन्थ्यो तर पछि तीनचोटि तान्ने परम्परा चल्दै आएको छ। अहिले महिला पनि पुरुषजत्तिकै जात्रामा समावेश हुने गरेका छन्। अन्तिम दिनको रथ तान्न अहिले महिलालाई नै आह्वान गरिन्छ।’

राम–लक्ष्मणले भनेजस्तो परिवर्तन इन्द्रजात्रामा मात्र आएको होइन। काठमाडौंका लगभग सबै जात्रा पहिलेको स्वरूपमा नभएको यसमा संलग्नहरू बताउँछन्। उपत्यकामा मनाइने मच्छिन्द्रनाथको जात्रा होस् वा बिस्केट जात्रा कुनै पनि पहिलेको स्वरूपमा मनाइँदैनन्। समाजमा आएको परिवर्तन जात्रामा पनि प्रतिबिम्बित हुने गरेको छ।

ललितपुरका यज्ञरत्न शाक्य अहिले मछिन्द्रनाथको मन्दिरको पुजारी छन्। उनी २९ वर्षदेखि यो जात्राको पुजारी भएर काम गरिरहेका छन्। उनले पनि जात्राको यो लामो यात्रामा धेरै परिवर्तन स्वीकार गर्दै आएका छन्। मछिन्द्रनाथको जात्रामा पनि नेवार समुदायका मानिसको जातअनुसार काम बाँडफाँट हुन्छ। सबै जातले आआफ्नो भूमिका निर्वाह गर्ने परम्परा रहेको शाक्य बताउँछन्। यो जात्रामा शाक्य र बज्राचार्यले पूजा र तान्त्रिकको काम गर्छन्। बोसी भन्ने जातिले रथ बनाउन आवश्यक बांगेमुढाहरू बनाउने गर्छन्। जात्रामा आवश्यक लिंगो बनाउने र काठ सेटिङ सिकर्मीहरूले गर्थे। महर्जनहरूले रथलाई बेतले बान्ने गर्छन्। ‘तर पहिलेभन्दा धेरै परिवर्तन आइसक्यो’ उनले भने, ‘अहिले एउटा जात नभए अर्को जातले पनि गर्ने परम्परा छ।’

भक्तपुर ठिमीमा मनाइने जात्रामध्ये सिन्दुर जात्रा पनि एक हो। यो जात्रा वैशाख महिनामा मनाइन्छ। ठिमीका हरिशरण पुकुत श्रेष्ठ यो जात्रासँगै हुर्किएका हुन्। उनले आफ्नो बाल्यकालमा मनाइने जात्राभन्दा अहिले मनाइने जात्रामा धरै परिवर्तन भएको पाएका छन्। ‘पहिले–पहिले जात्रामा खट बोक्नेलाई छोइला, थों (नेवारी समुदायमा जात्राको अवसरमा बनाइने जाँड) खुवाउने चलन थियो’ उनले भने, ‘तर अहिले त्यस्ता स्थानीय परिकारभन्दा बियर, वाइन आदि खान थालियो।’ जात्राका अवसरमा बनाइने थों अहिले हराउन थालेको उनको अनुभव छ। ‘जात्रापछिको भोजमा पनि बाह्य संस्कृतिको प्रभावले नयाँनयाँ परिकार आउन थाले’ उनले भने, ‘तर जात्रापछिको भोज भने अहिले पनि अनिवार्य नै हुन्छ।’

धरापमा मौलिकता

देशमा आएको राजनीतिक तथा आर्थिक परिवर्तनले यस्ता जात्रालाई पनि अछुतो राखेको छैन। तर, यसरी भएका परिवर्तनले जात्राको मौलिकता नै लोप होला कि भनेर चिन्तित हुनेहरू पनि प्रशस्त छन्। खोपः क्याम्पसका प्राध्यापक पुरुषोत्तम लोचन श्रेष्ठ जात्रामा आएका कतिपय परिवर्तन यसको मौलिकताका लागि खतरा भइरहेको बताउँछन्। उनका अनुसार जात्राहरूमा सांस्कृतिक परिवर्तनसँगै केही विकृति पनि भित्रिएका छन्।

भक्तपुरमा मनाइने बिस्केट जात्रा उपत्यकाकै प्रसिद्ध एवम् ऐतिहासिक हिसाबले महŒवको रहेको उनको भनाइ छ। यो जात्रा आठ रात नौ दिनसम्म मनाइन्छ। पछिल्लो समयमा यो जात्राको अवसरमा ढुंगा हानाहान, झगडा आदि विकृति मौलाएको श्रेष्ठ बताउँछन्। यस जात्रामा तल्लो र माथिल्लो टोलका बीचमा रथ तानातान गर्नुलाई मुख्य आकर्षणका रूपमा लिइन्छ। ‘हरेक वर्ष रथ तानातान गर्ने क्रममा ढुंगा हानाहान गर्दा जात्राको मौलिकता हराउन थालेको छ’ उनले भने, ‘नयाँ मानिसले त ढुंगा हानाहान गर्ने पनि जात्राको संस्कृति रहेछ भनेर बुभ्mन थालिसके।’ जात्रामा मादक पदार्थ सेवन गर्नेहरूले विवाद निम्त्याउने र वर्षौंदेखिको रिस पोख्ने गरेकाले झगडा हुने गरेको श्रेष्ठ बताउँछन्।

प्राध्यापक तथा लेखक अभि सुवेदीका अनुसार समाजमा सामाजिक र आध्यात्मिक दुइटा आयाम हुन्छन्। नेवारी समाज निर्माण हुने क्रममा अध्यात्मलाई समावेश गर्ने समाज बनाउँदा जात्राहरूको जन्म भएको उनको दाबी छ। ‘नेवारी समुदायका जात्रामा नाच्ने, गाउने र खाने हुन्छ’, उनले भने’ ‘नेवारहरूको भोज सीधै जात्रा, आर्किटेक्चर र पहिचानसँग जोडिएको छ।’ जात्रा समयसँगै घुम्ने पर्व पनि हो। एउटा ऋतुमा गरिने जात्रा अर्को ऋतुमा गरिँदैन। जात्रामा मानिसलाई भावना र मिथकले जोड्ने कुरा बताउँछन् सुवेदी। ‘जात्रामा पनि मिथको प्रयोग हुन्छ’ उनले भने, ‘मिथ बनाउनुको अर्थ भनेको यसले मान्छेलाई बाँध्छ।’

उपत्यकाका जात्राको अर्को विशेषता मानिसमाथि देवता आरोहण गर्नु रहेको उनी बताउँछन्। जात्रामा गरिने भोजको नेवारी कलासँग सम्बन्ध रहेको उनको तर्क छ। ‘नेवार समुदायको उत्सव भोज कला र वास्तुकलासँग जोडिन्छ’ उनले भने, ‘तर पछिल्लो समय उपभोक्तावादी अर्थनीति भएका, अकूत धन कमाएकाहरूले वर्षभरि नै धेरै पैसा खर्च गरेर गरेका भोज, अपव्यय, खाद्यवस्तुको दुरुपयोग गरेर देखासिखीको संस्कृतिलाई आत्मसात गर्दा यसको मौलिकता लोप हुँदै गएको छ।’

बन्द भए कतिपय

पछिल्लो समय संरक्षण नहुँदा कतिपय जात्रा हराउँदै गएको बताउँछन् संस्कृतिविद् हरिराम जोशी। पाटन दरबार क्षेत्रमा लिच्छविकालीन मानमानेश्वरी मन्दिर थियो। भूकम्पले क्षति भएका मन्दिरमा अहिले अरू नै संरचना बनेका छन्। त्यस मन्दिरबाट सञ्चालित हुने विभिन्न पर्वहरू थिए, जुन अहिले हराउँदै गएको जोशी बताउँछन्। ‘पर्व सञ्चालन गर्ने गुठीहरू नै अहिले छैनन्’ उनले भने, ‘गुठीको लोपमा विजयादशमीको अवसरमा देखाइने खड्ग जात्रा, कार्तिक नाच, अष्टमातृका नाच, कालरात्रि पर्व आदि बन्द भइसके।’

भक्तपुरको नवदुर्गा नाच पनि अब सञ्चालन हुन नसक्ने अवस्थामा पुगेको प्राध्यापक श्रेष्ठ बताउँछन्। यो नाच सञ्चालन गर्न आम्दानीको समस्या छ। यो नाच पनि केही समयपछि बन्द हुने अवस्था रहेको श्रेष्ठको भनाइ छ। श्रेष्ठले भक्तपुरमा मनाइने बाह्रबर्से पञ्चहलीको नाच र नरदेवीको नाच पनि देखिन छाडेको धेरै भयो। ‘यी नाचले सांस्कृतिक तथा धार्मिक महŒव बोकेका थिए’ उनले भने, ‘तर तिनको लोपसँगै नाचको सांस्कृतिक पहिचान पनि लोप हुँदै गयो।’ पहिले–पहिले ललितपुरको हरिसिद्धि नाच भक्तपुर ल्याउने चलन थियो तर अहिले त्यो नाच पनि इतिहासमा खोज्नुपर्ने अवस्था आइसकेको उनी देख्छन्।

‘एक समय भक्तपुरको बिस्केट जात्राका अवसरमा दुमाजु देवीको जात्रा चल्थ्यो’ उनले भने, ‘त्यो पनि लोप भएर गयो।’ दुमाजु देवी मल्लहरूले मान्दै आएका देवीहरूमध्ये एक हो। दुमाजु देवीको खट जात्रा बिस्केट जात्राको अवसरमै हुने गथ्र्यो। तर अहिले यसबारे धेरैलाई थाहा हुन छाडिसक्यो। गाईजात्राका अवसरमा निकालिने घिन्ताङघिसी नाच पनि एउटा महŒवपूर्ण नाच थियो। यो नाच पनि अहिले लोप भएको श्रेष्ठ बताउँछन्। ‘जात्राहरूले पहिलेको धार्मिक र सामाजिक जीवन प्रतिबिम्बित गर्छन्’ उनले भने, ‘यससँगै ऐतिहासिक कुरालाई पनि झल्काउँछ।’ जात्रा नेवारी समुदायको संस्कृति मात्र नभई पहिचान पनि भएको उनको भनाइ छ। ‘जात्राहरूको लोपसँगै नेवारी संस्कृति र पहिचानको पनि लोप हुने खतरा छ’, उनले भने।

राजा महेन्द्रले सके नेवारी संस्कृति

ललितपुर कार्यविनायकको चरे गुठी पनि अहिले हराएर गएको बताउँछन् मछिन्द्रनाथका पुजारी यज्ञरत्न शाक्य। चरे गुठी घोडेजात्राको अघिल्लो दिन चलाइने गुठी हो। ‘चरे गुठी पनि संरक्षण अभावमा हराएर गयो’ शाक्यले भने, ‘यसरी हराएर जाने गुठीहरू खोज्ने हो भने धेरै छन्।’ थोरै गुठियार भएका गुठीहरू गुठियारले नै हडप्ने गरेको उनी बताउँछन्। यसरी गुठीहरू हराउँदा यहाँको मौलिक संस्कृति र जात्रा लोप हँुदै गएको उनको ठम्याइ छ।

प्राध्यापक श्रेष्ठ पनि उपत्यकाका गुठीका जग्गा सकिँदै गएकोमा चिन्ता व्यक्त गर्छन्। ‘गुठीका जग्गाको आम्दानीले जात्राहरू चल्ने हो’ उनले भने, ‘गुठी जग्गा जात्रा चाडपर्वको आत्माका रूपमा मानिन्छ।’ गुठी जग्गाहरू हराएर गएकाले जात्रा चाडपर्व पनि लोप हँुदै गएको उनको भनाइ छ।

जात्रा गर्ने स्वतन्त्र गुठीहरू जब महेन्द्र सरकारको पालामा गुठी संस्थानअन्तर्गत लगेपछि नै जात्राको अस्तित्व धरापमा परेको संस्कृतविद् जोशीको तर्क छ। ‘संस्थानअन्तर्गत भएपछि एउटा जात्रा सञ्चालनमा २० लाख चाहिने ठाउँमा २ लाख दिन्छ अनि जात्रा कामचलाउ मात्र हुन थाल्यो’ उनले भने, ‘पहिले भोजमा राँगो काट्थे। अहिले राँगो काट्ने ठाउँमा भेडा काट्छन्।’ पहिले गुठीहरूको मातहतमा भएका जग्गाजमिन सबै सरकारले खाइदिएको उनी बताउँछन्।

अहिले सरकारले गुठी चलाउन पैसा दिएको भन्ने तर्क उनी मान्दैनन्। ‘गुठीको जग्गाको आम्दानी सरकारले खाइदियो अनि अहिले सरकारले दिएको भन्ने कि खाएको भन्ने ? ,’ उनले भने, ‘नेवारहरूको संस्कृति खत्तम गर्ने काममा राजा महेन्द्रको योगदान छ।’ स्वतन्त्र गुठीहरूलाई महेन्द्रका पालामा गुठी संस्थानमा लगेपछि सबै कुरा खत्तम भएको उनको भनाइ छ।

हाइलाइटउपत्यकामा मनाइने मच्छिन्द्रनाथको जात्रा होस् वा बिस्केट जात्रा होस्, कुनै पनि पहिलेको स्वरूपमा मनाइँदैनन्। समाजमा आएको परिवर्तनको प्रभाव जात्रामा पनि परेको छ।