कैलाली –कैलालीको टीकापुर ‘नरसंहार’ घटनामा दोषी ठहर भएर जेल परेका सबै (चार) जनालाई रिहा गरिएको छ । संविधान दिवसको अवसर पारेर सरकारले बाँकी कैद मिनाहाका लागि गरेको सिफारिस राष्ट्रपतिबाट सदर भएपछि आज (बुधबार) चारै जना कारागारमुक्त भएका हुन् ।
कैलाली कारागारमा रहेका तीन जना र बालसुधार गृहमा रहेका एक गरेर चार जना रिहा भएका छन् । कैलाली कारागारमा रहेका ४१ वर्षीय बीरबहादुर चौधरी, २५ वर्षीय प्रदीप चौधरी र २५ वर्षीय हरिनारायण चौधरी रिहा भएका हुन । उनीहरू कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दाका दोषी हुन् । नाबालक श्रवण चौधरी पनि बुधबार नै रिहा भएका बताइएको छ ।
थरुहट प्रदेशको माग गर्दै २०७२ साल भदौ ७ गते टीकापुरमा भएको झडपमा आन्दोलनकारीको आक्रमणमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र नाबालक गरेर ८ जनाको हत्या भएको थियो । सर्वोच्च अदालतले यस घटनालाई बिर्सनुपर्ने तर बिर्सन नसकिने जघन्य आपराधिक घटना भने पनि राजनीतिक लेनदेनमा सरकारले यसअघि नै रेशम चौधरीको बाँकी कैद माफी दिएर रिहा गरेको थियो ।