काठमाण्डौं –सरकार र शिक्षक महासंघबीच आन्दोलन फिर्ता लिने सहमति भएको छ । शिक्षा विधेयकमाथि असहमति जनाउँदै देशभरका शिक्षकहरू काठमाडौंमा आन्दोलन गरिरहेका थिए । आज सरकार र शिक्षक महासंघबीच भएको वार्तामा सहमति जुटेको हो ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको वार्तामा सहमति जुटेको हो । सहमति जुटेसँगै शिक्षक महासंघले आन्दोलन फिर्ता लिएको छ ।
सञ्चारमन्त्री रेखा शर्माले शिक्षकका मागहरू संसदबाट पूरा गर्ने सहमति भएको जानकारी दिइन् ।सरकारले संसदमा पेस गरेको सहमतिको मस्यौदामा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरू परिवर्तन गर्न संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र सङ्घीय संसद् सञ्चालनसम्बन्धी मौजुदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासङ्घ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानुनी प्रबन्ध गर्ने पनि सहमति भएको छ ।