Sagun Khabar
परराष्ट्रमन्त्री साउद विद्यार्थी लिन   इजरायल जाने

काठमाण्डाै – सरकारले इजरायलमा रहेका नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेकाे छ । आज बुधवार बसेकाे मन्त्रिपरिषद् बैठकले इजरायलमा रहेका नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री एनपी साउदसहितकाे टाेलीलाई पठाउने निर्णय भएकाे सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

नेपाली विद्यार्थी लिन आज राति साढे २ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जाँदैछ । नेपालबाट दुबई 'ट्रान्जिट' भई जहाज इजरायल पुग्ने छ ।

Atrya hospital

निगमले गरेको तयारीको आधारमा सबै कुरा यथावत् रहेमा निगमको जहाज भोलि बिहीवाबार बिहान ९ बजे इजरायल पुग्नेछ र त्यहाँबाट ९ बजेर १० मिनेटमा उडेर भोलि राति साढे ८ बजे नेपाल अवतरण गर्ने तालिका छ । 

परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार उद्धार हुन तथा नेपाल फर्कन चाहने तीन सय २४ जना नेपालीले राजदूतावासको अनलाइन रजिस्ट्रेशन प्रणालीमार्फत विवरण उपलब्ध गराएका छन् । विवरण दिनेमध्ये दुई सय ८८ जनाले नेपाल फर्कन र ३६ जनाले स्थानान्तरण हुन चाहेको बताएका छन् ।

प्यालेस्टाइनी लडाकु समूह हमासले गएकाे शनिवार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परि १० जना नेपालीको ज्यान गएको थियो भने चार जना घाइते भएका छन् । एक जना अझै सम्पर्कविहीन छन् । उनकाे खाेजी भइरहेकाे परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे छ ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update