काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच गठबन्धनप्रति दृढ र स्पष्ट रहनेबारे लिखित सहमति भएको छ ।
आज बिहान भएको तीन नेताबीचको छलफलमा लिखित सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सहमतिमा सबैजना सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट रहेको तथा यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने उल्लेख छ ।
सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेसका नेता कोइराला निकट केदार कार्की आज बिहान मात्रै कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी नेकपा एमालेको सहयोगमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गरेका थिए । कोशी प्रदेश सभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । कार्की कांग्रेसका ८ सांसदसहित एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।