काठमाण्डौं –परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा बेपत्ता रहेका नेपाली विद्यार्थी विपिन जोशीको स्थिती पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन् ।
आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले बेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरेका हुन् ।
कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएअनुसार विपिन आक्रमणकारी हमास समूहको कब्जामा रहेको हुनसक्ने बताए ।
बैतडीको दोगडाकेदार गाउँपालिका १ रीम घर भइ हाल कञ्चनपुर बस्दै आएका जोशीको अवस्था अझै अज्ञात रहेकाले परिवारजन चिन्तामा डुबेका छन् । जोशीको अवस्था यथाशीघ्र पत्ता लगाइदिन जोशीका दाजु किशोर जोशीले आग्रह गरे ।