काठमाण्डौ – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले दुई जना मन्त्री नियुक्त गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङसँग पद तथा गोपनीयताको शपथ लिनुअघि कार्कीले दुई जना मन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेसका सांसद शम्शेर राई र एमालेका संसदीय दलका उपनेता रामबहादुर मगरलाई मन्त्री नियुक्त गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । दुवै जना मन्त्री इलामका हुनुहुन्छ । मुख्यमन्त्री कार्कीसहित दुवै जना मन्त्रीले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।
कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ सहित ४७ जना प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले केदार कार्कीलाई हिजो शनिवार बिहान मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि उनलाई गठबन्धन दलहरूले पनि समर्थन गर्ने बताएका छन् ।
संविधानको धारा १ सय ६८ को उपधारा ३ अन्तर्गत मुख्यमन्त्री भएका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १ सय ६८ को उपधारा ५ अन्तर्गत सरकार गठनको आह्वान गरेका थिए । जसअनुसार कार्कीले कांग्रेसमा विद्रोह गरेर एमालेको सहयोगमा मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । कार्की कोशी प्रदेशको आठौँ मुख्यमन्त्री बनेका हुन् । कोशीमा १ वर्षको अवधिमा ५ औँ पटक मुख्यमन्त्री नियुक्त भएका छन् ।