
बैतडी –भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कनेको संख्या बढेको छ । बुधबारदेखि नाका पूर्ण रुपमा सञ्चालनमा आएसंगै स्वदेश फर्कनेको संख्या बढेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
गएको असोज ९ गतेदेखि ३० गतेसम्म झुलाघाट पुल मर्मतका लागि नाकामा आंशिक रुपमा मात्रै आवतजावत भइरहेको थियो । नाका पूर्ण रुपमा सञ्चालनमा आएसंगै दशैंका लागि घर फर्कनेको लर्को लागेको यातायात व्यवसायीहरुले बताएका छन् । दशैं नजिक आएसंगै नाकामा घर फर्कनेको संख्या ह्वात्तै बढेको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ ।
बुधबारदेखि दैनिक दुई सय बढी नागरिक झुलाघाट नाका भएर स्वदेश फर्किरहेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने यो पुरानो नाका भएकाले पनि यो नाकाबाट आवातजावत गर्नेहरुको संख्या बढी हुने गरेको छ । बुधबारमात्रै नाकाबाट २ सय २५ जना स्वदेश फर्केका प्रहरी प्रवक्ता खत्रीले बताए । उनले भने ‘नाकाबाट हिजोदेखि मान्छे आउने क्रम बढेको छ । दशैंका लागि घर फर्कनेका साथै भारतीय दर्शनार्थीहरु समेत नाकाबाट स्वदेश आइरहेका छन् ।’
भारतका विभिन्न शहरमा रोजगारीका लागि पसेकाहरु दशैंका लागि घर फर्कने गरेका छन् । विजयादशमीको दिन नजिक आएका बेला नाकाबाट स्वदेश फर्कनेको संख्या बढ्दै गएको चालक दानबहादुर क्षेत्रीले बताए । उनले भने ‘हिजोदेखि दैनिक नाकाबाट स्वदेश फर्कनेको संख्या बढ्दै गएको छ । नाकामा भीडभाड बढेको छ ।’
धेरै दिन नाकामा आंशिक रुपमा मात्रै आवतजावत भएकाले पनि हिजोदेखि नाकाबाट स्वदेश फर्कनेको संख्या बढेको हो ।
यस्तै झुलाघाट नाकाबाट बैतडीतर्फ आउने भक्तजनहरु पनि बढेका छन् । दशैंको समयमा बैतडीमा रहेका प्रसिद्ध निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली लगायतका भगवती मन्दिरमा भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् ।
महाष्टमी नजिक आएसंगै नाकाबाट बैतडी आउने भारतीय दर्शनार्थीको संख्या बढेको बताइएको छ । दशैंको समयमा सीमावर्ती भारतीय नागरिक पनि देवीहरुको दर्शनका लागि बैतडी पुग्ने गरेका छन् ।