बैतडी- बडादशैँको आठौ दिन अर्थात् महाष्टमी पर्व आज दुर्गा भगवतीकी आठौँ स्वरूप महागौरी देवीको पूजा–आराधना गरिदै छ । महागौरीलाई शिवकी शक्ति रुपमा मान्ने गरिन्छ । महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी माताको रुपमा मान्ने गरिएको छ ।
महागौरीलाई शाम्भवी पनि भनिन्छ । साँढेमा बसेकी माता महागौरीले एक हातमा त्रिशूल र अर्को हातमा डमरु लिएकी छिन् । माता महागौरीले एक हातले अभय र अर्को हातले शान्त मुद्रा प्रदर्शन गरेकी छिन् । देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ ।
मध्यरातमा दशैँघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ । आफ्ना परम्परामा ग्राह्य मानिएका पशुहरूको बलिसहित भगवतीको विशेष पूजा आराधना गरिन्छ । महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ । भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ । तान्त्रिक विधानअनुसार शस्त्रअस्त्रको पूजा गर्ने चलन पनि छ । नवरात्रका अरु दिन नसक्नेले यो दिन दुर्गा सप्तशती (चण्डी) पूरै पाठ गर्छन् ।