काठमाण्डौं –जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परि ६३ जनाको ज्यान गएको पुष्टि भएको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दू भएर गएराति ११ बजेर ४७ मिनेटमा भूकम्प गएको हो ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले दिएको जानकारी अनुसार बिहान ४ बजेसम्म प्राप्त विवरणअनुसार ६३ जनाको जनाको ज्यान गएको छ । जाजरकोटमा ३६ र रुकुम पश्चिममा २७ गरी ६३ जनाको मृत्यु भएको छ ।
उद्धारका रातिदेखि नै प्रहरी परिचालन भएका ढकालले जानकारी दिए । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
भूकम्पमा परेर जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ ।
भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ । रातिको समय भएकाले यकिन विवरण सङ्कलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।