काठमाण्डौ – गएराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या एक सय ३८ जना पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय जना र रुकुम पश्चिममा ३८ जना गरी एक सय ३८ जनाको मृत्यु भएको हो । भूकम्पका कारण एक सय ६६ जना घाइते भएका छन् । जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका हुन् ।
जाजरकोटमा घाइते भएका ८१ जनामध्ये २२ जनालाई थप उपचारको लागि सुर्खेत रेफर गरेको र बाँकेको जिल्लामै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । रुकुम पश्चिममा घाइते भएका ८५ जनामध्ये सात जनालाई सुर्खेत तथा १० जनालाई नेपालगञ्ज पठाएको र बाँकीको जिल्लामै उपचार भइरहेको छ ।
अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेका छन् । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।