Sagun Khabar
भारतले दियो नेपाललाई ११ टन राहत सामग्री

काठमाण्डौ – भारतले जाजरकोट भूकम्प पीडितका लागि १० करोड रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपाललाई हस्तान्तरण गरेको छ ।

आज आइतवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई राहत सामग्री हस्तान्तरण गरेका हुन् । भारतले हस्तान्तरण गरेको ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्रीमा त्रिपाल, कम्बल र डस्ना, झोलाका साथै आवश्यक औषधि र पोर्टेबल भेन्टिलेटर लगायत छन् ।

Atrya hospital

घनिष्ट मित्र र छिमेकीका रूपमा नेपालमा भूकम्प पीडितलाई हरसम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको राजदूत श्रीवास्तवले बताए । आउँदा दिनमा राहत सामग्रीका थप खेप नेपाल आइपुग्ने जनाइएको छ ।

भारतले २०७२ सालको भूकम्पपछिको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा पुनःनिर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर सहयोग गरेको थियो भने गोरखा र नुवाकोटमा ५० हजार घरको पुनःनिर्माणसमेत गरेको थियो ।

गएको शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update