Sagun Khabar
‘पढ्दै, कमाउँदै’कार्यक्रम : सेटीगाउँका विद्यार्थी गहुँ खेती गर्दै 

बैतडी –बैतडीको सेटीगाउँ मावि ककरपाखाका विद्यार्थीहरु ‘पढ्दै, कमाउँदै’कार्यक्रम अन्तर्गत गहुँखेतीमा लागेका छन् । विद्यालयले डिलाशैनी गाउँपालिका ६ बेतालथलामा ३० रोपनी जमीन भाडामा लिएको र सोही जमीनमा विद्यार्थीहरुले गहुँ खेती गरेको विद्यालयका प्रधानाध्यापक परमानन्द जोशीले बताए । 

आइएस्सी एजी चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले गहुँ खेती गरिरहेका हुन् । कृषितर्फको पढाई भएका कारण उनीहरुले गहुँखेती गरिरहेको प्रधानाध्यापक जोशीले बताए । 

‘पढ्दै, कमाउँदै’कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई आवश्यक बीउ, मल, औजार र अन्य सामग्रीका लागि विद्यालयले सापटी रकम उपलब्ध गराएको छ । गहुँ उत्पादन भएपछि गहुँ खेतीमा लागेका विद्यार्थीहरुले विद्यालयको खर्च रकम तिर्नुका साथै खुद नाफाको २० प्रतिशत विद्यालयलाई बुझाउने तय गरिएको छ । बाँकी रहेको नाफा खेतीमा संलग्न विद्यार्थीहरुले आपसमा बाड्ने प्रधानाध्यापक जोशीले बताए । 

Atrya hospital

गहुँ खेतीमा १३ जना विद्यार्थीहरुको सहभागिता रहेको छ । अध्ययनकै सिलसिलामा विद्यार्थीहरुलाई आयआर्जनको सीप समेत सिकाउने उद्देश्यले ‘पढ्दै, कमाउँदै’कार्यक्रममा समावेश गरिएको हो । 

पढाईका सिलसिलामा ‘पढ्दै, कमाउँदै’कार्यक्रममा सहभागी भएपछि विद्यार्थीहरु पनि खुसी भएका छन् । कार्यक्रम अन्तर्गत प्रयोगात्मक सीप र केही आम्दानी समेत हुने भएकाले आफूहरु निकै खुसी भएको विद्यार्थी अञ्जना जोशीले बताइन् । 

यस्तै विद्यालयमा केही दिनभित्रै सोही कार्यक्रम अन्तर्गत तरकारी खेती पनि शुरुवात गर्ने तयारी भएको प्रधानाध्यापक जोशीले बताए । 

यस्तै आइएस्सी भेट पढीरहेका विद्यार्थीहरु ‘पढ्दै, कमाउँदै’कार्यक्रम अन्तर्गत कुखुरापालन र माछा पालनमा संलग्न हुने सेटीगाउँ मावि ककरपाखाले जनाएको छ । कुखुरापालन र माछा पालनका लागि पनि आवश्यक तयारी भइसकेको विद्यालयका प्रधानाध्यापक जोशीले बताए । 

सेटीगाउँ माविमा प्राविधिक धारमा अध्ययनरत विद्यार्थीहरुलाई गएको दुई बर्ष यता ‘पढ्दै, कमाउँदै’कार्यक्रममा समावेश गरिँदै आएका प्रधानाध्यापक जोशीले बताए । यसका लागि विद्यालयले गाउँपालिकामार्फत बीउ पूँजीको रुपमा १७ लाख रकम समेत प्राप्त गरिसकेको छ । 

कार्यक्रमले विद्यार्थीहरुलाई प्रयोगात्मक र व्यवहारिक ज्ञान दिनका लागि समेत सहयोग गरेको विद्यालयका छात्रा विसनसिंह ठगुन्नाले बताए । सामूहिक रुपमा खेतीपातीको काम गर्न पाइने र कमाइ पनि हुने भएपछि आफूहरु खुसी भएको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update