काठमाण्डौ – नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर चेक हस्तान्तरण गरेको हो ।
कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि नौ बुँदे सुझाव पेस गर्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ । कांग्रेसले भूकम्पपछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ । कांग्रेसले राहत र पुनःनिर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्धार र पुनःस्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिइ सङ्घीय सरकारको अनुगमन र सहजीकरणका लागि सुझाव समेत दिएको छ । भेटमा कांग्रेस सभापति देउवासँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रचारविभाग प्रमुख मीनबहादुर विश्वकर्मालगायत सहभागी रहेका थिए ।
प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरुको अनुसरण गर्ने बताए ।
प्रधानमन्त्रीले आउँदो दिनमा भूकम्पलगायतका अन्य प्राकृतिक प्रकोपका लागि पालिकामा भण्डारणको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्नेलगायतका कामबारे छलफल भएको बताए । उनले नेपालीहरुमा सङ्कटको बेला एकैठाउँमा उभिने संस्कार विगतका प्राकृतिक विपतमा झैँ यसपटक पनि सबै एकजुट भएको बताए ।
आजै नेकपा (एकीकृत समाजवादी) ले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेतासहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी २५ लाख रुपैयाँ बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि हस्तान्तरण गरेको थियो ।