बैतडी –आफूहरुले काम गरेको पैसा पाउनु पर्ने भन्दै अनसनमा बसीरहेका बैतडीको पाटन–पञ्चेश्वर सडकका लेन्थवर्करहरुले माग पूरा नभए आन्दोलनका थप कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।
असार १८ गतेदेखि अनसनमा रहेका लेन्थवर्कहरुले आफूहरुले पारिश्रमिक नपाउँदा सम्म अनसन नछोड्ने अडान लिएका छन् । लेन्थवर्करहरुले गरेको आन्दोलनमा नेपाल सडक मजदुर ट्रेड युनियन जिल्ला कमिटि बैतडीले पनि आफ्नो ऐक्यबद्धता रहेको जनाएको छ ।
ट्रेड युनियनले एक विज्ञप्ती जारी गर्दै अनसनमा बसेका लेन्थवर्करहरुका माग तीन दिनभित्र पूरा गर्न आग्रह गरेको छ । लेन्थवर्करहरुका माग तीन दिनभित्र पूरा नभए आन्दोलनका थप कार्यक्रम गरिने चेतावनी दिइएको छ । २१ महिनादेखि आफूहरुले तलब नपाएको भन्दै पाटन–पञ्चेश्वर सडकका १२ जना लेन्थवर्करहरु अनसनमा बसीरहेका छन् ।
बर्षातको समयमा सडक छेउमै अनसनमा बसीरहेका लेन्थवर्करहरुको स्वास्थ्य समेत समस्या आउन थालेको छ ।