कैलाली –कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन् । त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन् ।
उनीहरूले दैनिक डेढ किलोमिटरभन्दा बढी सफाइ गर्ने गरेका छन् । चार सय ८५ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने यो नहर झारजङ्गल र पटानी हुँदा खेतमा पानी अभाव हुन थालेपछि किसान आफैँले नहर सफा गर्न थालेका भुर्षा कुला सिँचाइ समितिका अध्यक्ष गोपाल गिरीले बताए ।
उनले भुर्षा सिँचाइ कार्यक्रमलाई सरकारले सहयोग नगरेको गुनासो गरे । १२ गाउँका किसानले भागअनुसार कुलो सफा गर्ने गरेका छन् । कुलो सफाइ कार्यक्रममा सिँचाइ समितिका पदाधिकारी र गाउँका बडघरले नेतृत्व लिएर काम गरिरहेका छन् । बडघरले गाउँअनुसारको कुलाको क्षेत्रफल छुट्याइदिने गर्छन् । कुला सफा गर्दा महिलाको पनि उत्तिकै सहभागिता छ ।
कुलाप्रति तीनै तहका सरकारले बेवास्ता गरेको जनाउँदै उनीहरू आक्रोशित छन् । बडघर किसान सबै मिलेर सिँचाइका लागि चार दिनदेखि कुलो सफा गर्न थालेको भागीराम चौधरी बताए ।