धनगढी- पश्चिम सेतीको चार सय केभी प्रसारण लाइन विस्तार गरिने भएको छ। बझाङ–वनलेक–दोदोधरा विद्युत प्रसारण लाइन छिट्टै निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिने सङ्घीय सरकारले दाबी गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले यो लाइनको अध्ययन गरिरहेको छ। सुदूरपश्चिम प्रदेशको विकासको लागि आवश्यक यो प्रसारण लाइन भारतीय इक्जिम बैङ्कको ऋण सहयोगमा बन्नेछ।
बुढीगंगा जलविद्युत् आयोजनाका लागि निर्माण गर्नुपर्ने बूढीगंगा पहलमानपुर १३२ केभी प्रसारण लाइनको निर्माण अगाडि बढाउनका लागि पनि ऊर्जा मन्त्रालय र विद्युत् विकास विभागलाई निर्देशन दिने छलफलमा सहमति भएको छ। विद्युत विकास विभागले बनाइरहेको यो लाइन पश्चिम सेती तथा सेती नदी–६ जलविद्युत् आयोजनाको लागि आवश्यक छ।