बैतडी –बैतडीको पाटन –पञ्चेश्वर सडकका लेन्थवर्करहरु पारिश्रमिक माग गर्दै अनसन बसेको १४ दिन पूरा भएपनि उनीहरुको माग पूरा हुन सकेको छैन् । २१ महिनादेखिको आफूहरुले पारिश्रमिक नपाएको भन्दै लेन्थवर्करहरु आन्दोलित भएका हुन् । असार १८ गतेदेखि अनसनमा बसेका लेन्थवर्करहरुले आफ्ना माग पूरा नभए सम्म अनसन नछोड्ने बताएका छन् ।
आफूहरु बेलाबेलामा ठगिएकाले अब माग पूरा नभएसम्म अनसन नछोड्ने लेन्थवर्कर जयराम भुलले बताए । उनले भने ‘हाम्रा माग पूरा नहुँदा सम्म हामी अनसन छोड्दैनौं । बरु सडकमै मर्न तयार छौं ।’
लेन्थवर्करका समस्या समाधानका लागि सहयोग गर्न बनेको सहयोग समितिले आज उनीहरुसंग छलफल गरेपनि छलफल बिना निष्कर्ष सकिएको छ । सहयोग समितिले अनसन तोड्न आग्रह गरेको भएपनि लेन्थवर्करहरुले अनसन तोड्न नमाने सहयोग समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिए । उनले भने ‘हामीले लेन्थवर्करहरुसंग उनीहरुको स्वास्थ्यलाई समेत ख्याल राखेर अनसन तोड्न आग्रह गर्यौं । तर उनीहरुले अनसन तोड्न मान्नु भएन् ।’
प्रदेशमा कार्यविधि नबनेकाले उनीहरुको पारिश्रमिक उपलब्ध गराउन समस्या भएको उनको भनाई छ ।लेन्थवर्करका माग जायज रहेका र आन्दोलनको स्वरुप बदल्न आग्रह गरेको भएपनि उनीहरुले नमाने भट्टले बताए ।
पाटन–पञ्चेश्वर सडक प्रदेश सरकार मातहत गएपछि आफूहरुलाई समस्या भएको लेन्थवर्कर लालसिंह ठगुन्नाले बताए । आफूहरुका माग पूरा नहुँदा सम्म अनसन नछोड्ने उनले बताए ।