काठमाण्डौ – महोत्तरीमा आठ वर्षअघि भएको सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जिल्ला अदालत महोत्तरीले सात जनालाई जन्मकैदको सजाय सुनाएको छ । यो मुद्दामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मीमहतो कोइरीले भने सफाइ पाएका छन् ।
मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते असई विकको हत्या भएको थियो । यो मुद्दामा २०७५ साउन २८ गते महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।
आज बिहीवार जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरू सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको अदालतकी स्रेस्तेदार नुतन झाले जानकारी दिइन् । यस प्रकरणमा अभियोग लागेका १९ जना अझै फरार छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८० १८:५२
प्रतिक्रिया दिनुहोस्