कैलाली –तीन महिनाअघि रुसी सेनामा भर्ना भएका कैलालीको टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको छ । परिवारले शुक्रबार उनको मृत्यु भएको खबर पाएका हुन् ।
शाहको मृत्युको खबर पाएपछि आफन्तजनको सल्लाहमा उनका परिवारजनले कुशको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा अन्तिम संस्कार गरेका छन् । भरतको शव आउने÷नआउने टुंगो नभएपछि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको हो ।
रुसमा शाहको मृत्यु भएको खबर पाएदेखि उनका बुवा–आमा र श्रीमती विक्षिप्त अवस्थामा रहेका छन् ।
भरतको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई औपचारिक रुपमा जानकारी दिइसकेको छैन । भरतसंगै कार्यरत सहकर्मीबाट मृत्युको खबर पाइएको मृतकका भाइ मंगल शाहले बताए ।
सात वर्ष नेपाल प्रहरीमा काम गरेका शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा गरेर दुबई गएका थिए । दुबईमा उनी गार्डको काम गर्थे । दुबइबाट उनी रुस गएर तीन महिना अघिमात्रै रुसी सेनामा भर्ना भएका थिए ।
नोभेम्बर २६ तारिखमा उनको रुसको सीमा क्षेत्रमा गोली लागेर मृत्यु भएको खबर उनका सहकर्मी कञ्चनपुरका रविन थापाले पठाएको शाहले बताए ।
मृतक भरत घरका माइला हुन् । उनका कान्छा भाई मोहन मलेसियामा छन् भने दाजु उत्तम रोमानिया छन् । मृतक शाहका श्रीमति, चार वर्षको छोरा र तीन महिनाको छोरी रहेको मंगलले बताए । शाहको परिवार अछामको बान्नीगढी जयगढ नगरपालिका ६ दर्नाबाट टीकापुर बसाई सरेको हो ।