बैतडी –सुदूरपश्चिमका केही ठाउँमा आज भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सक्रिय रहेकाले बिहानदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी र बाँकि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे छ । सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली हुँदा धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशमा राति पनि एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।