काठमाण्डौ – सरकारले ललितपुरको बालकुमारीमा शुक्रवार भएको घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोग गठनका लागि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज आइतवार निर्देशन दिएका हुन् । गृह मन्त्रालयले आयोग गठनसम्बन्धी प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा पेस गर्नेछ ।
भोलि सोमवार बिहान बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनसम्बन्धी औपचारिक निर्णय गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा २ बमोजिम आयोग गठन हुने उनको भनाइ छ । आयोगले सोमवारदेखि नै काम गर्नेछ ।
मन्त्री ज्वालाले पूर्वन्यायाधीशको संयोजकत्वमा न्यायिक छानबिन आयोग गठन गर्ने जानकारी दिए ।
बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको ज्यान गएको थियो । साथै मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी भएको थियो ।
गृह मन्त्रालयले त्यही दिन नै बालकुमारी घटनाको छानबिनका लागि एक समिति गठन गरिसकेको छ । सरकारले शनिवार मात्रै ललितपुरका प्रहरी प्रमुख, ललितपुरका प्रमुख जिल्ला अधिकारी र ईपीएस कोरिया शाखाका प्रमुखलाई छानबिन नसकिँदासम्मका लागि निलम्बन गरिसकेको छ ।