Sagun Khabar
राष्ट्रिय सभाको चुनावमा सत्ता गठबन्धनका १८ जना उम्मेदवार विजयी

काठमाण्डाै – राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक भएको छ । १९ सिटका लागि भएको चुनावमा कोशीमा एक जनाबाहेक सबैतिर अर्थात् १८ जना सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका छन् ।कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी हुनुभयो ।

तर कोशीमै गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौलाले भने राप्रपाका उद्धव पौडेललाई हराउनुभयो । सिटौला पौडेलभन्दा ७ सय ३० धेरै मतभारले विजयी हुनुभएको हो । तर गठबन्धनकै उम्मेदवारले भोट नदिँदा माओवादीकी चम्पा कार्कीलाई एमालेकी उम्मेदवार कार्कीले पराजित गर्नुभयो । कोशीमा सत्ता गठबन्धनकै मतदाताले एमाले र राप्रपालाई मत दिएको पुष्टि भएको छ ।यस्तै मधेस प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित हुनुभएको छ ।

Atrya hospital

बाग्मतीमा सत्ता गठबन्धनकै चार जना उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यतर्फ कांग्रेसकै जितजङ्ग बस्नेत, अपाङ्गतातर्फ माओवादीका कृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी हुनुभएको छ ।यस्तै गण्डकी प्रदेशमा पनि गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपाङ्गता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित हुनुभएको हो ।लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी विजयी हुनुभयो ।

यस्तै कर्णालीमा पनि गठबन्धनका तीनै जना उम्मेदवार विजयी भए । कर्णालीमा अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल र दलिततर्फ माओवादी केन्द्रका विष्णुबहादुर विक निर्वाचित भएका छन् ।सुदूरपश्चिममा पनि गठबन्धनकै तीन जना उम्मेदवार विजयी भए । महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतातर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी हुनुभएको हो ।निर्वाचन आयोगले नतिजाको औपचारिक घोषणा भने गरेको छैन ।  

सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा बिहान ९ बजे शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । सातै प्रदेशमा प्रदेश सभाका ५ सय ४९ जना प्रदेश सभा सदस्य रहेकामा ५ सय ४६ जनाले मत हालेका छन् । यस्तै पालिकाका प्रमुख र उपप्रमुख गरी १४ सय ९७ जना मतदाता रहेकामा १४ सय ८६ जनाले मत हालेका निर्वाचन आयोगले जनाएको छ ।

चर्चामा रहेका तीन जना स्वतन्त्र मेयरहरूले मतदान गरेनन् । काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाह, धनगढी उपमहानगरका गोपी हमाल र धरानका मेयर हर्क साम्पाङ राई मतदानमा सहभागी हुनुभएन ।आउँदो फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने भएपछि आज चुनाव भएको हो । आज निर्वाचित सदस्यहरूको कार्यकाल ६ वर्षको रहनेछ ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update