बैतडी -बैतडीमा विदेशिने युवाको सख्या बढेको छ । स्थानीय स्तरमा रोजगारी नपाएपछि जिल्लामा विदेशिने युवाहरुको सङख्या बढेको हो ।
जिल्ला प्रशासन कार्यालय बैतडीबाट ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि १४ सय बढीले राहदानी बनाएका छन् । वैदेशिक रोजगारीका लागि जिल्ला प्रशासन कार्यालयबाट चालु आर्थिक वर्षको ६ महिनामा मात्रै १ हजार ४ सय ६० जनाले राहदानी बनाएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बहादुर बोहराले जानकारी दिए ।
गत आर्थिक वर्षमा २ हजार ९ सय ७३ जनाले वैदेशिक रोजगारीका लागि राहदानी बनाएकोमा चालु आर्थिक वर्षको ६ महिनामा मात्रै १४ सय ६० जनाले राहदानी बनाएका उनले बताए । पछिल्लो तथ्याङ्क हेर्दा जिल्लाम राहदानी बनाउने बढ्दै गएका हुन् । यहाँका वेरोजगार युवाहरुले खाडीमूलुकहरुका लागि राहदानी बनाएका पाइएको छ।
विकसित मूलुक भन्दा पनि यहाँका युवाहरुले मलेसिया, कतार, साउदी लगायतका देशमा जानका लागि राहादानी बनाएका सूचना अधिकारी बोहराले बताए । यस्तै घरायसी परिबन्दमा परेका जिल्लाका महिला पनि पछिल्लो समय वैदेशिक रोजगारीको बाटो रोज्न थालेका छन् । वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पनि बैतडीमा बढ्दै गएको पाइएको हो ।
गत आर्थिक वर्षमा २ सय ५ जना महिलाले वैदेशिक रोजगारीका लागि राहदानी बनाएका थिए । यो चालु आर्थिक वर्षको ६ महिनामाा २ सय ५० जना महिलाले विदेशका लागि राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । गाँउका सिंहदरबारले बेरोजगारलाई रोजगारी दिन नसक्नुले यहाँका युवा विदेशिन बाध्य भैरहेका हुन् ।