धनगढी- राष्ट्रिय सभाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरेको छ। सोमबार बसेको बैठकमा उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो। उक्त विधेयक बहुमतले पारित भएको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेकी थिइन्।
छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै राज्यमन्त्री कुमारीले राजधानीबाहिर सुदूरपश्चिममा गुणस्तरीय स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा सञ्चालनको लक्ष्य राखेर विधेयक ल्याइएको स्पष्ट पारे। उनले विधेयकमार्फत दक्ष स्वास्थ्य जनशक्तिको विकासमार्फत राष्ट्रलाई सेवा पुर्याउने तथा सुदूरपश्चिममा पनि केन्द्रीय विश्वविद्यालय राख्न सकिन्छ भन्ने सन्देश दिइएको बताए।
संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको थियो। गेटामा शिक्षा मन्त्रालयले झण्डै ६ अर्ब बजेट खर्च गरिसकेको छ। ५१ वटा भौतिक संरचना संघीय शिक्षा मन्त्रालयले निर्माण गर्दैछ। ३० वटा भौतिक संरचनाको काम पूरा भएको छ।