बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं –३ स्थित प्रसिद्ध वनारसी धाममा जात्रा सम्पन्न भएको छ । हरेक बर्षको माघ शुक्ल दशमीका दिन सो मन्दिरमा जात्रा लाग्ने गर्दछ । माघ शुक्ल पक्षको प्रतिपदाबाट पूजाआजा शुरु भइ माघ शुक्ल दशमीका दिन वनारसी धाममा जात्रा लाग्ने गरेको स्थानीय हरिदत्त पन्तले जानकारी दिए ।
अन्य मन्दिरमा ब्राम्हण समुदायका मानिस पूजारी हुने भएपनि यो मन्दिरमा भने दलित समुदायका पूजारी छन् । दलित समुदायका पूजारीले पूजा गरिसकेपछि सबै समुदायका दर्शनार्थीले प्रसाद र टीका ग्रहण गर्दछन् ।
वनारसी मन्दिरमा परापूर्वकालदेखि दलित समुदायका पूजारीले पूजाआजाको काम गर्दै आएका छन् । यसले जातीय भेदभाव गर्नुहुँदैन भन्ने कुरा सिकाएको पन्तले बताए । दलित समुदायका पूजारीले पूजा गरिसकेपछि सबै जातजातीका दर्शनार्थीहरुले प्रसाद ग्रहण गर्ने चलन रही आएको पन्तले बताए । उनले भने ‘वनारसी धामको जात्रा सामाजिक सदभावको जात्रा हो । यो जात्रामा सबै समुदायका नागरिक एकै ठाउँमा भेला भएर पूजाआजा गर्ने गर्दछन् ।’
वनारसी धाममा लागेको जात्रामा हजारौं दर्शनार्थीहरुले दर्शन गरेको जात्रामा सहभागी भएका गोविन्द बिष्टले बताए । उक्त जात्रामा बैतडीका मात्रै नभएर टाढाका भक्तजनहरुको समेत सहभागिता रहेको थियो । सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत दर्शनका लागि जात्रामा आउने गरेको पाटन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष करुणाकर भट्टले बताए ।
वनारसी मन्दिरमा १२ औं शताब्दीबाटै जात्रा हुने गरेको स्थानीयबासी बताउँछन् । सोही बेलादेखि सो मन्दिरमा सबै समुदायका मानिस एकै ठाउँमा बसेर पूजाआजा गर्ने गरेको किम्बदन्ती रहेको छ । देवता र दैत्यबीच लडाईँ हुँदा खोपरे नामक दैत्यलाई वनारसी देवताले मारेको किम्वदन्ती रही आएको छ । सोही समयदेखि वनारसी देवतालाई शक्तिशाली देवताको रुपमा पूजाआजा गर्ने चलन रही आएको छ ।
वनारसी धाममा विश्वनाथ ज्योतिर्लिङ्ग स्थापना गरिएकाले पछिल्लो समयमा यहाँ दर्शन गर्नेहरुको संख्या बढ्दै गएको पण्डित गणेशप्रसाद पन्तले बताए । मन्दिर निर्माण गरेर वनारसी धाममा विश्वनाथ ज्योतिर्लिङ्ग स्थापना गरिएको उनले बताए ।
वनारसी धाम नै विश्वनाथ ज्योर्तिलिङ्ग भएको नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले बताउँदै आएका छन् । उनले भने, ’शास्त्रमा उल्लेख भएअनुसार पौराणिक सरयु नदी अर्थात् सुर्नयाको किनारमा विश्वनाथ धाम अवस्थित छ । त्यसैले वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग हो ।’