बैतडी- महाशिवरात्रीको अवसरमा बैतडीको प्रशिद्ध स्वर्गेनी पिपल धाममा कृषि प्रदर्शनी मेला लाग्ने भएको छ । पाटन भ्याली क्रिकेट क्लवको पहल तथा पाटन नगरपालिका वडा नं ६ को सहयोगमा यहि फागुन २५ गते महाशिवरात्री पर्वका दिन स्वर्गेनी पिपल धाममामा कृषि प्रदर्शनी मेला लाग्ने भएको हो ।
पाटन नगरपालिका वडा नं ६ को सहयोगमा कृषि उपजको प्रदर्शनी हुने पाटन भ्याली क्रिकेट क्लवका सचिव सन्तोश जोशीले जानकारी दिए । मेलामा स्थानीय स्तरमा उत्पादित कृषि उपजको प्रदर्शनी हुने उनले बताए । कृषि उपज प्रदर्शनी मेलामा वडाभित्रका कृषकहरुले आफुले उत्पदान गरेको कृषि उपजको प्रदर्शनी गर्न पाउने वडा अध्यक्ष राजेन्द्र सिंह विष्टले बताए ।
प्रदर्शनी मेलामा सहभागि किसानहरुलाई उचित पुरस्कार तथा प्रोत्साहनको व्यवस्था पनि रहेको पाटन भ्याली क्रिकेट क्लवका सचिव जोशीले बताए । यस कार्यक्रमले कृषि पेसामा आबद्ध भएका किसानहरुलाई कृषि कर्म गर्न थप उर्जा मिल्ने अपेक्षा गरिएको छ । मेलामा किसानहरुले आफुले उत्पादन गरेका तरकारी तथा फलफूलका उपजहरु प्रदर्शन गर्न पाउने छन् ।
कृषि प्रदर्शनमा ल्याएका उत्पादीत वस्तुको मुल्याङ्कन कृषि शाखा पाटनका प्राविधिकहरुबाट गरिने बताइएको छ। सबै कृषकहरुलाई आफनो कृषि उपजको प्रदर्शनी गरिदिन पनि आयोजकले आग्रह गरेको छ ।