बैतडी –भ्रष्टाचारको आरोप लागेका बैतडीका तत्कालिन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियुक्तिपत्र नै नभएको व्यक्तिलाई शिक्षक बनाएको आरोप लगाउँदै तत्कालिन जिशिअ भट्टमाथि बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले दायर गरेको मुद्दामा यही फागुन १७ गते फैसला गर्दै भट्टलाई सफाइ दिएको हो । बिशेष अदालतले भट्टलाई उपलब्ध गराएको फैसलासम्बन्धी जानकारी पत्रमा अख्तियारले दायर गरेको मुद्दामा सफाइ पाउने ठहरी फैसला भएको राय किताबबाट देखिएको व्यहोरा जानकारी गराएको छ । उक्त फैसलाको पूर्णपाठ समेत तयार भइनसकेको बिशेष अदालतले जनाएको छ ।
तत्कालिन जिल्ला शिक्षा अधिकारी भट्टले नियुक्तिपत्र नै नभएको गैरशिक्षक व्यक्ति मनकाकुमारी अवस्थीलाई झुट्टा सरुवापत्रको आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । अवस्थीलाई हुनैनाथ आधारभूत विद्यालय सल्सेनाबाट बलैराज निमावि सुनखोलामा नियम विपरीत सरुवा गरेको आरोप लगाइएको थियो ।