बैतडी–लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको डिलाशैनी गाउँपालिकामा जगदीशप्रसाद जोशीले प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्ने भएका छन् । बैतडीको दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डिलाशैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जोशीलाई थप जिम्मेवारी दिएको छ ।
मन्त्रालयले दशरथचन्द नगरपालिकाको कामकाजमा बाधा नपर्ने गरेर डिलाशैनी गाउँपालिकामा समेत जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न भनेको छ । डिलाशैनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नखटाइसम्मका लागि जोशीलाई डिलाशैनी गाउँपालिकाको समेत जिम्मेवारी दिइएको हो ।
जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि अब गाउँपालिकाका कामकाज अगाडि बढ्ने विश्वास लिइएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । चालु आर्थिक बर्षमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सबै कामहरु ठप्प रहेका उनले बताए ।
गाउँपालिकामा गएको असोज ८ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका रञ्जय पटेलको ८ दिनमै सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको थियो । बीचमा केही महिना रघुनाथ अवस्थीलाई डिलाशैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रुपमा जिम्मेवारी दिइएको थियो । त्यो बेला कर्मचारीको तलब खुवाउने बाहेक अरु काम हुन सकेको थियो ।
चालु आर्थिक बर्ष ८ महिना बित्नै लाग्दा समेत गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत नपाउँदा समस्या भएको प्रवक्ता भट्टले बताए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको प्रशासनिक, आर्थिक लगायतका अन्य कामहरुमा बाधा परेको उनले सुनाए ।
मन्त्रालयले जोशीलाई डिलाशैनीको समेत जिम्मेवारी तोकेपछि अब काम अघि बढ्ने प्रवक्ता भट्टले बताए । चालु आर्थिक बर्षमा रोकिएका कामहरु अब अगाडि बढ्ने उनले बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुमा समयमा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा समस्या हुने गरेको प्रवक्ता भट्टको भनाइ छ ।