बैतडी–बैतडीमा जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कल स्थापना दिवस मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा गिरेगडाको आयोजनामा स्थापना दिवस मनाइएको हो ।
जुनियर रेडक्रस सर्कलका सभापति अनिता चन्दको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका मन्त्री रमेशसिंह भण्डारी प्रमुख अतिथी रहेका थिए ।
दिवसको अवसरमा सरसफाइ कार्यक्रम गर्नुका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको रेडक्रस बैतडीका मन्त्री भण्डारीले बताए । अन्तरक्रिया कार्यक्रममा रेडक्रस सिद्धान्त, जुनियर र युवा रेडक्रस सर्कल आवश्यकता र महत्वका बिषयमा छलफल भएको उनले बताए । समुदायमा जुनियर र युवा रेडक्रस सर्कलले सामुदायिक विकासका काम गर्न सक्ने भएकाले यस्ता संगठनहरुलाई बलियो बनाउनुपर्नेमा जोड दिइएको छ ।
दिवसको अवसरमा अन्तर्राष्ट्रिय रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको सम्झना गर्दै उनको फोटोमा माल्यर्पण गरिएको थियो । यस्तै खोड्पे उपशाखाले पनि जुनियर र युवा रेडक्रस सर्कल स्थापना दिवसको अवसरमा कार्यक्रम सम्पन्न गरेको बताइएको छ ।
बैतडीमा नेपाल रेडक्रस सोसाइटी अन्तर्गत २३ ओटा उपशाखा रहेका छन् । आधारभूत तहका विद्यालयहरुमा जुनियर रेडक्रस सर्कल गठन गरिएका छन् भने माध्यमिक तहका विद्यालय र क्याम्पसहरुमा युवा रेडक्रस सर्कल गठन गरिएका छन् ।