बैतडी- बैतडीमा रहेको प्रसिद्ध धार्मीक स्थल पाताल भुवनेश्वरमा भोलि भव्य मेला लाग्ने भएको छ । जिल्लाको सुर्नया गाउँपालिका २ सिउडे स्थित प्रसिद्ध धार्मीक तथा पर्यटकिय स्थल पाताल भुवनेश्वर धाममा भोलि शिवरात्रीका दिन भव्य मेला लाग्ने भएको हो ।
प्रत्येक वर्ष शिवरात्री पर्वका दिन सिउडेमा भव्य मेला लाग्ने गरेको स्थानीय युवा हरिश विष्टले बताए। ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पातालभुवनेश्वर धाममा प्रत्येक वर्ष महाशिवरात्रीको समयममा भव्य मेला लाग्ने गर्दछ । चारैतिर वनजंगलले घेरेको पाताल भुवनेश्वर धामको बीचमा रहेको प्राकृतिक तालको जल शिरमा चढाएर भक्त जनहरुले गुफाको दर्शन गर्ने गर्दछन् ।
सडकबाट झण्डै आधा किलोमिटरको दुरीमा रहेको पाताल भुवनेश्वरधाममा शिवरात्रिको दिन स्नान,शिवालयहरुमा धुपबत्ती र गुफाको दर्शन गर्ने हरुको भीड लाग्ने गर्दछ । शिवरात्रिका दिन सिउडे बजार देखि मन्दिर परिसर सम्म भोलि दर्शनार्थीहरुको भीड हुन्छ ।
यस्तै भोलि लाग्ने मेलालाई मध्यनजर गरेर सुर्नया गाउँपालिका वडा नं २ ले मदिराको कारोबारमा रोक लगाएको छ । मदिराका कारण मेलाको समयमा विभिन्न खालका घटनाहरु हुन सक्ने भन्दै मेला स्थल आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडा अध्यक्ष गणेश बहादुर विष्टले बताए । वडाको सिन्केलक, सतबाँझ बजार देखि सिउडे र पत्ताल भुवनेश्वर धाम जाने गेट सम्मका साथै वडाको ग्रामीण क्षेत्रमा समेत मदिराको कारोबार बन्द गरिएको वडाले जारी गरेको सूचनामा उल्लेख गएिको छ । कसैले उल्लंघन गरी मदिराको कारोबार र सेवन गरेमा कानुनी कारवाही गरिने बताइएको छ ।