बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ मा रहेको गडदेव आधारभूत विद्यालयको ताला खुलेको छ । नवनिर्मित भवनमा लगाइएको ताला डेढ वर्ष पछि खुलेको हो । गाउँपालिका जनप्रतिनिधि,प्रशासन र अभिभावकले शनिबार विद्यालयमा लागेको ताला खोलेका हुन् ।
गाउँपालिकाले २०७८÷०७९ मा विद्यालय व्यवस्थापन संग ३६ लाखमा राष्ट्रपति शैक्षिक सुधार अन्तर्गतको ४ कोठे भवनको लागि सम्झौता गरेको थियो । उक्त भवन निर्माणको जिम्मा पाएका केशव सिंह घटालले ६७ लाख लागत लागेको भवनको भुक्तानी नपाएको भन्दै ताला लगाएका थिए । गाउँपालिकाले प्राविधिक मुल्यांकन अनुसारको रकम भुक्तानी दिने भनेपछि ताला खोलिएको बताइएको छ । गाउँपालिकाले ५८ लाख लागत लागेको भन्दै सोही अनुसारको विल उठाएको छ ।
तर भुक्तानी भने ३६ लाख मात्रै भएको छ । गडदेव आधारभूत विद्यालयको नयाँ भवनमा ताला लागेकाले बालबालिकाहरु खुल्ला चौरमा पठनपाठन गर्न बाध्य भएका थिए । ताला खुलेपछि अब सहज भएको विद्यालयका प्रधानाध्यापक निरज जोशीले बताए । कक्षा ५ सम्मको पढाई हुने सो विद्यालयमा अहिले एक सय जना जति विद्यार्थीहरु अध्ययनरत रहेका बताइएको छ ।