काठमाडौं,- नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले व्यवस्था बलियो बनाउन ठूला दलबीच मेलमिलापको आवश्यकता रहेको बताएका छन्। उनले नयाँ सरकार बनाउने कोणबाट नभई व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन कांग्रेस र एमाले मेलमिलाप हुनुपर्ने उनको भनाइ छ।
‘नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने भनेको नयाँ सरकार बनाउनका लागि होइन,’ संघीय संसद भवन परिसरमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘देशमा संकट आइरहेको छ, व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेका छन्। व्यवस्थाको औचित्यमाथि नै मानिसहरुले प्रश्न उठाउन थालेका छन्, यो सन्दर्भमा कम्तीमा कांग्रेस र एमालेको मेलमिलाप हुनुपर्छ।’
उनले कांग्रेस र एमालेको मेलमिलाप सरकार बनाउन र भत्काउन नभई व्यवस्था बलियो बनाउन हुनुपर्ने बताए।
(न्युज एजेन्सी नेपाल)