बैतडी- बैतडीको झुलाघाट नाका अब बेलुकी ७ बजेसम्म खुल्ने भएको छ । पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा समन्वय बैठकले दुई देशबीचको बैतडीको झुलाघाट नाका बेलुकी ७ बजेसम्म खोल्ने सहमति भएको हो ।
यसअघि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने सो नाका अबदेखि बेलुका ७ बजेसम्म खोल्ने सहमति भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। बैठकमा भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कताबारे पनि छलफल भएको छ ।
साथै दुवै देशका सीमा क्षेत्रमा हुनसक्ने आपाराधिक गतिविधि नियन्त्रण, मानव तथा वन्यजन्तु तस्करीमा रोक, लागुऔषध ओसारपसारमा रोकलगायतका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ । मंगलबार भारतको पिथौरागढमा नेपाल र भारतका अधिकारीहरुबीचको सीमा समन्वय बैठकसम्पन्न भएको थियो ।