बैतडी- भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयको राजस्वमा वृद्धि भएको छ । नाकामा निगरानी बढेपछि राजस्व सङ्कलनमा वृद्धि भएको हो ।
भन्सार छली हुने गरेको आशंकामा सीमा नाका तथा अन्य सहायक बाटोहरुमा निरन्तर स्थलगत अनुगमन हुन थालेपछि महाकाली भन्सार कार्यालयको राजस्वमा वृद्धि भएको हो । महाकाली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०÷०८१मा ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।
सो लक्ष्य कार्यालयले छ महिनामै भेटाएको छ । चालु वर्षको छ महिनामा ५६ लाख बढी राजस्व सङ्कलन भएको महाकाली भन्सार कार्यालयका प्रमुख अनिल कुमार झाले जानकारी दिए । सीमामा निगरानी बढेपछि एक वर्षको लक्ष्य छ महिनामै प्राप्त भएको उनले बताए । राजस्व सङ्कलनको लक्ष्य प्राप्तीमा हम्मे हम्मे परेको महाकाली भन्सार कार्यालयले ६ महिनाको अवधीमै एक वर्षका लागि राखेको लक्ष्य हासिल गरेको उनको भनाई छ ।
प्रहरीको पछिल्लो समयको सकृयतालेपनि राजस्वमा वृद्धि भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले अहिले धमाधम भन्सार छलीका सामान बरामद गरिरहेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले कडा निगरानी गर्दा अहिले भन्सार छलीका सामान बरामद भैरहेका हुन् ।
भारतसँग सीमा जोडिएका क्षेत्रमा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गतविगतमा लक्ष्यको ७४÷७५ प्रतिशत मात्रै राजस्व संकलन हुने गरेको महाकाली भन्सार कार्यालयको राजस्व सङ्कलन मा अहिले उल्लेख्य सुधार भएको कार्यालयलले जनाएको छ ।