Sagun Khabar
बैतडीमा मन्दिरको सुन चोरी प्रकरण : थप दुईजना व्यापारी पक्राउ 

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका १ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी प्रकरणमा थप दुईजना व्यापारी पक्राउ परेका छन् । मन्दिरबाट लुटिएको सुन खरीद गर्ने दुईजना सुनचाँदी व्यवासायीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 

बैतडीको दशरथचन्द नगरपालिका ४ गढीका सुनचाँदी व्यवसायी ३३ बर्षीय कञ्चन पौडेल र सोही ठाउँका ४५ बर्षीय गणेशकुमार पौडेल पक्राउ परेका हुन् । गणेश नेपाल सुनचाँदी व्यवसायी संघ बैतडीका अध्यक्ष समेत हुन् । दुवैजनाले गोठलापानीमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका छन् । 

Atrya hospital

यसअघि मन्दिरबाट चोरेको सुन खरीद गरेको आरोपमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पक्राउ गरि अनुसन्धान भईरहेको छ । 

यो संगै मन्दिर सुनचोरी पक्ररणमा तीनजना व्यवसायी पक्राउ परिसकेका छन् भने सुन चोर्ने ४ जनालाई यसअघि पक्राउ गरिसकिएको छ । सुनचोरी प्रकरणमा संलग्न अन्यहरुको पनि खोजी भईरहेको प्रहरी निरीक्षक शाहीले बताए । 

गत पौषमा दोगडाकेदार गाउँपालिका १ रीमकै धनबहादुर कार्की, लालबहादुर कार्की, केशव सार्की र हरिकृष्ण सार्कीले योजना बनाएर मन्दिरको सुन लुटेको पुष्टि भएको छ । उनीहरु चारैजनामाथि चोरी मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको छ । 

मन्दिरको सुन पौषमा चोरिएको भएपनि चैतमा मात्रै थाहा भएको थियो । चैतपछि गाउँमा स्थानीयहरुले सुनचोर्नेको सोधीखोजी गरेका थिए । उनीहरुले असार अन्तिम साता मात्रै मन्दिरको सुन चोरी भएको बिषयमा प्रहरीलाई जानकारी गराएका थिए । लटिनाथ मन्दिरमा ९ तोला सुन रहेकोमा पौने चारतोला प्रहरीले बरामद गरिसकेको छ भने बाँकी सुन विक्रि भएको खुलेको छ । मन्दिरको सुन खरीद गर्ने व्यापारीहरुमाथि समेत अनुसन्धान भईरहेको छ । 

बिना बिलको सुन खरीद गर्नु गैरकानुनी कार्य भएकाले मन्दिरबाट लुटिएको सुन खरीद गर्नेहरुमाथि अनुसन्धान भईरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update