कैलाली –सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पर्सि बिहीबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले मंगलबार बिहान विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् ।
लगतै प्रदेशसभा सचिवालयले बिहीबार ३ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना निकालेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री शाहले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।
साथै विश्वासको मत लिने सूचना दुई दिनअघि नै प्रदेशसभालाई दिनुपर्ने नियमावलीमा व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री शाहले सूचना दिएका बुझिएको छ । तर मुख्यमन्त्री शाहसंग अझै पनि बहुमत छैन् ।
प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ ।