बैतडी - बिसु पर्वको अवसरमा बैतडीको सनसेरीमाण्डौँमा भव्य मेला लागेको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ स्थित सनसेरीमाण्डौँमा आज बिहानै देखि बिसु मेला लागेको हो । यो ठाउँमा प्रत्येक वर्ष बिसु पर्वमा मेला लाग्ने गरेको छ ।
परापूर्व काल देखि नै सुर्नयाको सनसेरीमाण्डौँमा नयाँ वर्ष अर्थात बिसु पर्वका दिन मेला लाग्दै आएको छ । सनसेरीमाण्डौँमा लागेको मेलामा दर्शनार्थीहरुको घुइचो लाग्ने गरेको स्थानीय युवा जयन्त प्रशाद भट्टले बताए ।
यो मेलामा सुर्नया गाउँपालिकाका साथै छिमेकी स्थानीयतहहरु दोगडाकेदार,सिगास गाउँपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाबाट समेत दर्शनार्थी आउने गरेका उनले बताए । सनसेरीमाण्डौँ बजारसम्म अहिले यातायातको सुविधा भएकाले पनि टाढाटाढाबाट समेत दर्शनार्थीहरु आउने गरेका स्थानीयहरुको भनाई छ ।
यो मेलामा सरिक भएर सनसेरीमाण्डौँमा रहेको सनसेर देवताको मन्दिरमा पूजा पाठ गरेमा मनोकामना पुर्ण हुने जनविश्वास समेत रहिआएको छ । सनसेरीमाण्डौँमा लाग्ने मेलालाई स्थानीयमा बिसु मेला भनिन्छ ।
सनसेरीमाण्डौँको मेला भर्न आउनेहरु सिस्नो खेलेर रमाइलो गर्ने गर्दछन् । तर पछिल्लो समय सिस्नो खेलेर रमाइलो गर्ने चलन हराउदै गएको स्थानीयहरुको भनाई छ । भेटघाटका साथै व्यापार प्रवद्र्धनका दृष्टिले पनि मेला प्रभावकारी बन्दै गएको बताइएको छ ।