Sagun Khabar
बैतडीको तल्लादेहीमा पहिरोले ५ घरपरिवार विस्थापित, थप ९ घर जोखिममा 
फाइल फोटो

बैतडी –लगातारको बर्षाका कारण पहिरो खसेपछि बैतडीको पुर्चौंडी नगरपालिका ९ तल्लादेहीका पाँच घरपरिवार विस्थापित भएका छन् । घरमाथिबाट पहिरो खसेपछि केही घर पूर्ण रुपमा र केही आंशिक रुपमा क्षतिग्रस्त भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । 

पहिरोका कारण मानवीय क्षति नभएपनि पशुचौपायामा क्षति भएको उनले बताए । घरमाथिबाट खसेको पहिरोले डाँडाखालीका करन लुहारको बाख्रा,खरायो र कुखरा च्यापिएर मरेका छन् भने जनक दमाईको एक गाई र १ बाख्रो मरेको छ । यस्तै सोही ठाउँका जयराम लुहारको खरायो र बाख्रा पहिरोमा च्यापिएर मरेका प्रहरी निरीक्षक ओझाले बताए । 

Atrya hospital

आइतबार राती घरमाथिबाट खसेको पहिरोले करन लुहार, जनक दमाई, जयराम लुहार,गगनराम सार्की र डम्मर सार्कीको परिवार विस्थापित भएको छ । विस्थापित परिवार मध्ये जयराम लुहार र गगनराम लुहारको परिवार लोखाडी आधारभूत विद्यालय डाँडाखालीमा बसेको प्रहरी निरीक्षक ओझाले बताए । 

यस्तै डम्मर सार्कीको परिवार गोपी सार्कीको घरमा बसीरहेको छ भने अन्य विस्थापितहरु पनि छिमेकीको घरमा बसीरहेका बताइएको छ । 

पहिरोका कारण सो ठाउँका अन्य ९ घर पनि पहिरोको जोखिममा रहेका छन् । लगातार बर्षा भईरहेकाले पहिरोको जोखिम कायमै रहेको छ । विस्थापित परिवारलाई गाँस,बास र कपासको समस्या भएको स्थानीयहरुले बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update