बैतडी- बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौं स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज भव्य जात्रा लागेको छ । चैतेदशैंको अवसर पारेर निङ्गलाशैनी भगवती मन्दिरमा आज पशुबलि सहितको भव्य जात्रा लागेको हो।
चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा भइरहेको निङ्गलाशैनी भगवती मन्दिरमा आज भव्य जात्रा लागेको निङ्गलाशैनी भगवती मन्दिरका पुजारी देवदत्त भट्टले जानकारी दिए । चैते नवरात्रीको अवसरमा मन्दिरमा घटस्थापनादेखि नै पूजाआजा शुरु हुने र चैत्राष्टमीका दिन बलि दिने चलन रही आएको उनले बताए ।
गत विगतमा चैत्र महिनामै जात्रा हुने गरेको भएपनि यो वर्ष अधिकमासका कारण बैशाखमा जात्रा लागेको पुजारी भट्टले बताए । हिजो सप्तमीका दिन राँगा बाँधिएका र अष्टमीका दिन पशुबलि दिइने उनले बताए । निङ्गलाशैनी भगवती मन्दिरमा बर्षमा ४ पटक जात्रा लाग्ने गरेको छ । दशैंको बेला महाष्टमीका दिन पशुबलिसहित जात्रा हुने निङ्गलाशैनी भगवती मन्दिरमा चैतको महिनाको चैतेदशैंमा पनि जात्रा हुने गरेको छ ।
यस्तै अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन पनि सो मन्दिरमा जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुर्यबहादुर बोहराले बताए । मन्दिरमा दर्शनार्थीहरु दर्शनका लागि टाढाटाढाबाट आउने गरेका उनको भनाइ छ ।
निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । यस्तै देहीमाण्डौंमा मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । चैतेदशैँको अवसरमा लाग्ने बलिसहितको जात्रालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्न देहीमाण्डौंमा मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाइएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष बोहराले बताए । मदिरा सेवन र विक्रि वितरणका कारण विभिन्न खालका समस्याहरु उत्पन्न हुने भएकाले मेला अवधि सम्म मन्दिर आसपासका क्षेत्रमा मदिरा ओसारपोसार, बेचविखन, सेवन ताथ जुवातास पूर्णरुपमा निषेध गरिएको उनले बताए ।
कसैले मदिराको कारोबार र सेवन गरेको पाइएमा कानुन अनुसार कारवाही हुने समेत जनाइएको छ । निङ्गलाशैनी भगवती मेला व्यवस्थापन समितिका अनुसार मदिरा बेचविखन ओसारपोसर गरेको पाइएमा ५ हजार , सेवन गरि हो हल्ला गरेमा २ हजार , जुवातास खेलेखेलाइएको पाइएमा ५ हजार र खुल्ला ठाउँमा दिशा पिषाब गरेको पाइएमा १ सय जरीवाना तोकिएको छ । मेला अवधिभर कसैले समितिको निर्णय विपरित कार्य गरेको पाइएमा कारबाही गरिने मेला व्यवस्थापन समिति अध्यक्ष भान बहादुर बोहराले बताए।