बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बन्द भएको छ । झुलाघाट नाका मंगलबार साँझबाट ७२ घण्टाका लागि बन्द भएको हो ।
भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन हुँदै छ ।
उक्त निर्वाचनलाई मध्यनजर गर्दै मंगलवार साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म ७२ घण्टाका लागि झुलाघाट नाका बन्द भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । सुरक्षा संवेदनशीलताको कारण नाका बन्द भएको उनको भनाई छ ।
सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१ ०७:५६
प्रतिक्रिया दिनुहोस्