बैतडी- बैतडीमा बिजुलीको बिल नर्तिने पार्टी कार्यालयको लाइन काटिएको छ । ६ वर्षदेखि विद्युत् महसुल नतिरेपछि तीन वटा मुख्य राजनीतिक पार्टीको कार्यालयमा जडान गरिएको बत्तीको लाइन काटिएको हो ।
नेपाल विद्युत प्राधिकरण विद्युत् वितरण केन्द्र बैतडीले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी कार्यालयको लाइन काटेको हो । नियम अनुसार तीन महिनाभित्र विद्युत् महसुल बुझाउनुपर्ने भए पनि राजनीतिक पार्टीले छ वर्षसम्म बिजुली बालेर महसुल नतिरे पछि बाध्य भएर लाइन काटिएको विद्युत् वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले जानकारी दिए ।
उनका अनुसार कांग्रेसले ४१ हजार, एमालेले १८ हजार र माओवादी केन्दले ४७ हजार विद्युत् महसुल तिर्नु बाँकी छ । विद्युत् वितरण केन्द्रले नियम पद्धति अनुसार विद्युत् महसुल नतिर्ने राजनीतिक दलसहित १२२ वटा सरकारी कार्यालयको लाइन काट्ने सूची तयार परेको छ । महसुल नतिर्ने ती सरकारी कार्यालयबाट १७ लाख ५१ हजार ९१९ रुपियाँ र अन्य ग्राहकबाट ६५ लाख ९९ हजार ३२२ रुपियाँ गरी एक करोड रुपियाँ महसुल उठाउन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण विद्युत् वितरण केन्द्र बैतडीले जनाएको छ ।