बैतडी–बैतडीको शिवनाथ गाउँपालिकामा आजदेखि दुई दिने निशुल्क आँखा शिविर सञ्चालन भएको छ । शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेसन नेपालको संयुक्त आयोजना तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले जानकारी दिए ।
गाउँपालिकाको केन्द्र सुल्लेखानमा सञ्चालन भइरहेको शिविरमा पहिलो दिन ३ सय २५ जनाले आँखा परीक्षण गराएका छन् । शिविरमा आएका मध्ये ७० जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । यस्तै चार जनाको आँखामा मासु पलाएको शल्यक्रिया गरिएको छ । शिविर भोलि पनि सञ्चालन हुने प्रवक्ता चन्दले जानकारी दिए । आँखाको समस्या भएका नागरिकलाई शिविरमा आएर सेवा लिन समेत आग्रह गरिएको छ ।
आँखाको समस्या भएका नागरिकलाई स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । आँखा शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका उनले बताए ।
ग्रामीण क्षेत्रमा आँखाको समस्या भएका धेरै नागरिक भएका र उनीहरुलाई उपचारको दायरमा ल्याउन शिविरको आयोजना गरिएको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए ।
शिविरमा प्राविधिक सहयोग गरिरहेको धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले सामाजिक उत्तरदायित्व अन्तर्गत आफूहरुले शिविर सञ्चालनमा सहयोग गरिरहेको बताए । नेत्रालयको प्राविधिक सहयोगमा यसअघि जिल्लाको पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकामा शिविर सञ्चालन गरिएको उनले बताए ।