Sagun Khabar
ललितपुर मेयर महिला क्रिकेटमा सुदूरपश्चिमद्वारा कोशी पराजित

बैतडी –ललितपुर मेयर महिला क्रिकेट प्रतियोगिताको सोमवार सम्पन्न दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले जित हासिल गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई १९ रनले हराएको हो । 

जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर–११ लाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १६ रनले हराएको थियो। 

Atrya hospital

सुदूरपश्चिम प्रदेश दुई खेलबाट चार अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट समान अंक बटुलेको एपीएफ क्लब तालिकाको पहिलो स्थानमा छ । सुदूरपश्चिम प्रदेश नेट रन रेटमा एपीएफ क्लबसँग पछि परेको हो । 

कोशी प्रदेशको भने प्रतियोगितामा यो लगातार दोस्रो हार हो । यसअघि आफ्नो पहिलो खेलमा कोशी प्रदेशको टोली एपीएफ क्लबसँग २४ रनले पराजित भएको थियो । कोशी प्रदेश अंक तालिकाको चौथो स्थानमा छ । 

सोमवारको खेलमा टस जिती पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय १२ रन बनाएको थियो । 

सुदूरपश्चिमका लागि सम्झना खड्काले अर्धशतक बनाइन् । उनले ५१ बलमा चार चौकाको मद्दतले ५४ रन बनाइन् । उनी प्लेयर अफ दी म्याच पनि घोषित भइन् । सुदूरपश्चिमका लागि रितु कनौजियाले २३ रनको योगदान गरिन् ।  कप्तान बिन्दु रावलले १४ रन बनाइन् । कोशी प्रदेशकी बलर सबनम राई, हिरनमयी रोय र सङ्गीता राईले दुई–दुई विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको कोशी प्रदेशले भने निर्धारित ओभरमा सात विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो । कोशी प्रदेशका लागि काजल श्रेष्ठले ३३ र कप्तान अप्सरी बेगमले २३ रन बनाएका थिए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । 

सुदूरपश्चिमका बलर रितु कनौजिया, लक्ष्मी साउद, जानकी थापा र बिन्दु रावलले एक–एक विकेट लिए । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update