Sagun Khabar
यू–१९ सुदूरपश्चिम छनौट : बैतडी फाइनलमा प्रवेश 

बैतडी –कप्तान नरेन भट्टको अलराउन्डर प्रदर्शनले बैतडी वाई वाई यू १९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा फाइनलमा प्रवेश गरेको छ। समूह ए मा रहेको बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगेको हो।

आज सम्पन्न लिग चरणको अन्तिम खेलमा डडेल्धुरामाथि ४ विकेट जित निकाल्दै बैतडी उपाधि नजिक पुगेको छ ।

डडेल्धुराले दिएको १०९ रनको लक्ष्य बैतडीले २७.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे । 

Atrya hospital

जसमा कल्पेश चन्दले २६,दीपेश बोहराले १९ र कप्तान नरेन भट्टले १६ रनको योगदान गरे ।डडेल्धुराका किरन देउवा ३ र निरज ऐरले २ विकेट हात पारे । 

त्यसअघि परशुराम नगरपालिका १२ स्थित जोगबुढा रंग मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको डडेल्धुरा २६ ओभरमा १०८ रनमा अलआउट भयो । उसका राजेश ऐरले ४१,सचिन साउदले २० रन बनाए । 

बैतडीका लागि कप्तान नरेन भट्टले ३ विकेट झारे । म्यान अफ द म्याच समेत भएका नरेनले ७ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर ३ विकेट लिएका हुन् । 

यस्तै सचिन भट्ट र आकाश चन्दले १÷१ विकेट लिए ।

लगातार ३ खेल जित्दै समूह ए बाट अंकतालिकाको शिर्ष स्थानमा रहदै फाइनल पुगेको बैतडीले उपाधिका लागि समूह बी को शिर्ष टोलीसंग भिड्नेछ ।

समूह बी का खेल भोलिदेखि र फाइनल खेल असार १ गते हुनेछ ।

जेठ २० गतेदेखि शुरु प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले जानकारी दिए ।
सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हो । 

दुबै समूहबाट शिर्ष स्थानमा पुग्ने टोलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहराले बताए ।

प्रदेशस्तरीय छनौटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनौटकर्ता दीपेन्द्र भण्डारीले बताए । ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update