बैतडी –बैतडीका पत्रकार विनोद सिंह विष्टलाई युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने उक्त पुरस्कारको राशी ५० हजार रूपैयाँ रहेको छ ।
राष्ट्रिय समाचार समिति बैतडीका समाचारदाता विष्टलाई मन्त्रालयले असार पहिलो हप्ता सिंहदरबारमै नगद पुरस्कारसहित सम्मान गर्नेछ ।
मन्त्रालयले पुरस्कारका लागि गत माघमा आवश्यक कागजपत्रसहित आवेदन आह्वान गरेको थियो । देशभरबाट आएका आवेदनमध्ये मन्त्रालयले गरेको मूल्यांकनको आधारका विष्ट पुरस्कारको लागि छनौट भएका हुन् ।
पत्रकार महासंघ बैतडीका सहसचिव समेत रहेका विष्टले उक्त पुरस्कार पाउने भएपछि खुसी व्यक्त गर्दै पुरस्कारले पत्रकारिता पेसाप्रति थप जिम्मेवार बनाउनुका साथै पेसामै रहिरहन उर्जा मिलेको बताए ।
बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका पत्रकार विष्ट विगत १३ वर्षदेखि पत्रकारिता पेशामा क्रियाशिल रहेका छन् ।