Sagun Khabar
सम्पन्न भयो चर्मण्वती साहित्य सम्मेलन 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका –६ गोकुलेश्वरमा आयोजना गरिएको चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सम्पन्न भएको छ । 

आइतबारदेखि शुरु भएको सम्मेलन सोमबार सम्पन्न भएको हो । राष्ट्रियता संरक्षण अभियानको आयोजना र डिलाशैनी गाउँपालिकाको मुख्य प्रवद्र्धनमा सम्मेलन सम्पन्न गरिएको हो । 

सम्मेलनमा नेपाल तथा भारतका साहित्यानुरागी व्यक्तिहरुको सहभागिता रहेको थियो । दुई दिन सम्म चलेको सम्मेलनमा साहित्यका विविध बिषयमा छलफल र प्रस्तुती गरिएको राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले बताए । 

Atrya hospital

सम्मेलनको अवसरमा विभिन्न ठाउँका साहित्यकारहरुद्वारा लिखित तीनओटा पुस्तकको विमोचन गरिएको थियो । स्थानीय कला, भाषा र संस्कृतिको संरक्षणका लागि सम्मेलनको आयोजना गरिएको लेखकले बताए । 

गंगादशहराको दिनलाई चर्मण्वती दिवसको रुपमा मनाउने गरिएको र त्यसैको अवसरमा सम्मेलनको आयोजना गरिएको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । चर्मण्वती सभ्यताको बिषयमा सबैलाई जानकारी दिने र चौलानी तटका पालिकाहरुलाई चर्मण्वती सभ्यतामा जोड्नका लागि सम्मेलनको आयोजना गरिएको उनले बताए । 

सम्मेलनमा सहभागी भारतका साहित्यकारहरुले सम्मेलनले साहित्यका माध्यमबाट दुईदेशबीचको सम्बन्धलाई बलियो बनाउन भूमिका खेलेको बताए । साहित्यका माध्यमबाट छिमेकी देशहरुको सम्बन्ध विस्तार हुने भारतीय साहित्यकार डा. पिताम्बर अवस्थीले बताए । 

साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीमा नेपाल तथा भारतका साहित्यकारहरुले आफ्ना प्रस्तुती राखेका थिए । सम्मेलनमा सीमावर्ती भारतका साहित्यकार डा.पिताम्बर अवस्थी,डा. अरुणप्रतापसिंह भदौरिया  गायिका भगवती दनुपुरिया, कथक नृत्यकार गुरु हेमन्त महाराज लगायतको सहभागिता थियो ।

यस्तै नेपालका तर्फबाट रमेश पन्त (मितबन्धु),जगदीश ओझा,गंगा बिष्ट,तीर्थराज पाण्डेय, कृष्णदत्त चटौत (कान्त),पूर्ण मल्ल, प्रजापति नेगी,लगायतको सहभागिता थियो । 

सम्मेलनको समापन समारोहमा घोषणापत्र समेत जारी गरिएको छ । चर्मण्वती सभ्यताको विकास र विस्तारका लागि पहल गर्ने, निती कार्यक्रम बनाउने लगायतका कुराहरु घोषणापत्रमा उल्लेख गरिएको राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष लेखकले बताए । 

चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीले साहित्यक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । 

सम्मेलनको अवसरमा विभिन्न महानुभावहरुलाई सम्मान समेत गरिएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update