Sagun Khabar
दुधे शिशुसहित कार्यक्षेत्रमा लिला 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख लिला कुँवर दुधे शिशुसहित कर्मक्षेत्रमा खटिएकी छन् । ९ महिने दुधे शिशुसहित उनी कर्म क्षेत्रमा खटिएकी हुन् । 

२०५० साल वैशाख ११ गते बैतडीको श्रीकोटमा मध्यम वर्गीय परिवारमा जन्मिएकी लिलाले कक्षा ४ सम्म श्रीकोटमै अध्ययन गरिन् । बुवाआमाले कञ्चनपुरमा बसाइ सारेसंगै उनले कक्षा ४ देखि १० सम्मको शिक्षा जनसेवा मावि हल्दुखालबाट ग्रहण गरिन् । जनसेवा माविबाटै २०६५ सालमा एसएलसी गरेकी लिलाले कञ्चन विद्या मन्दिरबाट आइएस्सी र सिद्धनाथ विज्ञान क्याम्पसबाट बिएस्सी फाइनल गरिन् । स्नातोकोत्तरसम्मको शिक्षा अध्ययन गरेकी कुँवरले सुदूरपश्चिम विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातोकोत्तर गरेकी छन् । 

श्रीमानको प्रेरणाबाट लोकसेवा पास गरे 

Atrya hospital

बिएस्सीको पढाई सकेपछि लिलाको बिहे भयो । सरकारी सेवामै रहेका खगेन्द्र कार्कीसंग विवाह बन्धनमा बाँधिएकी लिलाले उनकै प्रेरणाबाट लोकसेवा आयोग पास गरेको बताइन् । २०७३ सालदेखि लोकसेवा आयोगको तयारी थालेकी लिलाले २०७६ सालमा उपलब्धी हाँसिल गरिन् । उनले भनिन् ‘घरमा श्रीमान, आमाबुवा सबैको प्रेरणाले लोकसेवा आयोगको तयारी गरे । ४ पटक लिखितमा नाम निस्कियो तर मौखिकमा उत्तीर्ण हुन सकेन् । २०७६ साल पुसमा सहायक चौथो तहमा लोक सेवा उत्तीर्ण गरेर दार्चुलाको नौगाड गाउँपालिका वडा नं १ मा सचिवको रुपमा काम गरे । सोही बर्ष फागुनमा महिला विकास निरीक्षक पदमा नाम निकालेर दशरथचन्द नगरपालिकामा काम गर्न थालेकी हुँ ।’

उनले अगाडि थप्दै भनिन् ‘मैले विवाह गर्ने बेलामा मेरो श्रीमान सरकारी जागीरे हुनुहुन्थ्यो । अब लोक सेवा पास गर्नुपर्छ भन्नुभयो । सुरुमा त म लोकसेवा आयोगमा के उत्तीर्ण हुन सकुँला र भनेर सोचेकी थिएँ । तर त्यसको ठीक उल्टो भयो । मैले लोकसेवा आयोगको तयारी गरे पास पनि भए ।’

दुई सन्तानकी आमा समेत बनेकी लिला अहिले दुधे शिशुसहित कार्य क्षेत्रमा खटिएकी छन् । महिलाका लागि यो कार्य निकै चुनौतीपूर्ण रहेको भएपनि आफू शिशुसहित फिल्डमा खटिने गरेको बताइन् । उनले भनिन् ‘महिलाले दिएको जिम्मेवारी सहजतापूर्वक सम्पन्न गर्न सक्छन् । म दुधे शिशुुसहित कर्म क्षेत्रमा खटिएकी छु ।आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेकी छु ।’ 

सरकारी जागीरमा महिलाको आकर्षण 

पछिल्लो समयमा निजामति सेवातर्फ महिलाको संख्या बढ्दै गएको छ । खास गरेर सुदूरपश्चिममा पहिलाको तुलनामा अहिले महिलाहरु सरकारी जागीर तर्फ तंग्रिन थालेका लिलाले बताइन् । पहिला पहिला सरकारी जागिरमा कमै महिला भएपनि पछिल्लो दिनमा महिलाको संख्या बढ्दै गएको उनले बताइन् । उनले भनिन् ‘पछिल्लो समयमा हाम्रो समाजमा पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । छोरी मान्छेहरुको उच्च शिक्षामा पहुँच बढ्दै गएको छ ।’

छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतनाको विकास भएसंगै अब छोरीहरु पनि अब्बल दर्जाको हुन थालेका छन् । महिलाले अवसर पायो भने सबै काममा निपुण हुन सक्छन् भन्ने उदाहरण बनेका छन् । आफ्नो सम्मान र प्रतिष्ठाका लागि समेत सरकारी जागीरमा महिलाको आकर्षण बढेको पाइन्छ । 

उनले भनिन् ‘पहिला पहिला पढेलेखेको छोरीका लागि अलि बढी पढेको केटा खोज्ने चलन थियो । अब त्यो चलन ब्रेक भएको छ । महिला पनि आफ्नै खुट्टामा उभिन सक्ने भएका छन् । श्रीमानसंग सरकारी जागीरमा महिलाको पनि उपस्थिती हुन थालेको छ । यसले के देखाउँछ भने पछिल्लो समयमा निजामती सेवामा महिलाको आकर्षण बढेको छ ।’ 

यसरी पढ्थेँ 

श्रीमानले लोकसेवा आयोगको कक्षा तयारी गरेमा उत्तीर्ण हुन्छौ भन्ने ढाडस दिएपछि लिलाले लोकसेवाको तयारीका लागि कम्मर कसिन् । राति अबेरसम्म पढ्दा पनि तयारी गरेको तीन बर्षपछि मात्रै लोकसेवामा सफल भएको उनले बताइन् । 

घरपरिवारको प्रेरणा र सहयोग दुवै उत्तिकै आवश्यक हुने उनले बताइन् । उनले भनिन् ‘विवाहपछि पढ्न पाइँदैन भन्ने हाम्रो समाजमा मान्यता छ । तर मैले विवाहपछि मात्रै घरपरिवारको सहयोगले सरकारी जागिरमा छिर्न सके ।’

छोरीहरु आत्मविश्वास बढाऔं 

छोरी मान्छेलाई पढाउन हुँदैन भन्ने मान्यता बोकेको समाजमा महिलाहरुलाई अगाडि बढ्नै निकै चुनौती रहेको छ । तर पहिलाको भन्दा अवस्था फेरिएको छ । महिलाहरुले आत्मविश्वास बढाएमा जुनसुकै काम गर्न सकिने लिलाले बताइन् । 

महिलामा इच्छाशक्ति भयो भने सबै चुनौतीहरु पार गरेर सफलता हात पार्न सकिने लिलाले बताइन् । उनले भनिन् ‘मैले एकै बर्ष दुईओटा लोकसेवा पास गरे । आत्मविश्वासका साथ पढ्दा यो सफलता हात लागेको हो । त्यसैले आत्मविश्वास राखेर अगाडि बढ्नु आवश्यक छ । यसमा घरपरिवारले भने साथ दिनुपर्छ ।’

अहिले धेरै जसो जिल्लाहरुमा सरकारी कार्यालयहरुले महिलाका लोकसेवाका तयारी कक्षा सञ्चालन गरेको पाइन्छ । ती कक्षाहरुमा समेत सहभागी भएर आत्मविश्वासका साथ लागेमा लोक सेवा आयोग पास गर्न सकिने लिलाले बताइन् । 

सरकारी कार्यालय महिलामैत्री हुनु अनिवार्य 

सरकारी सेवामा महिलाको सहभागिता बढ्दै गएपनि कार्यालयहरु भने महिलामैत्री हुन नसकेका लिलाको अनुभव छ । उनी कार्यरत दशरथचन्द नगरपालिकामा स्तनपान कक्ष नहुँदा छोरीलाई दुध चुसाउन निकै सकस पर्ने गरेको छ । उनले भनिन् ‘स्तनपान कक्षको व्यवस्था नहुँदा मलाई निकै समस्या भएको छ । छोरीलाई कार्यालयमै लिएर आउछु । तर दुध चुसाउन स्तनपान कक्ष नहुँदा खाली कोठा खोजेर दुध चुसाउनुपर्ने बाध्यता छ ।’

महिलामैत्री सरकारी कार्यालय नहुँदा महिला कर्मचारीहरुलाई समस्या हुने गरेको उनले बताइन् । यसका लागि सबैले सोच्नुपर्नेमा उनले जोड दिइन् ।  

Lila-1-1719142129.jpg
 


 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update